क्यान्सर पीडित परिवारबाट २ करोड ८ लाख ठगीको आरोपः फर्जी चेक प्रकरणमा सांसद आशिका तामाङको नाम किन जोडियो?
विराटनगर – क्यान्सरबाट थलिएका बुबालाई बचाउने आशामा सुरु भएको एक परिवारको विश्वासको सम्बन्ध अहिले करोडौँ रुपैयाँको विवाद, फर्जी चेक, कथित ब्ल्याकमेलिङ, प्रहरीको भूमिकामाथि उठेका प्रश्न र सांसद आशिका तामाङको नाम जोडिएको संवेदनशील प्रकरणमा परिणत भएको छ।
अमेरिकामा बसोबास गर्दै आएकी कुष्मा बुढाथोकीले आफू र आफ्नो परिवारबाट २ करोड ८ लाख रुपैयाँ ठगी गरिएको दाबी गर्दै न्यायको खोजीमा प्रहरीदेखि राष्ट्रिय मानवअधिकार आयोगसम्म पुग्नुपरेको बताएकी छन्। यो विवादको केन्द्रमा छन् झापाका जीवनप्रसाद बास्कोटा। बुढाथोकी परिवारको आरोप छ—बास्कोटाले आफूलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उच्च तहको कर्मचारीका रूपमा प्रस्तुत गर्दै परिवारको विश्वास जिते, बिरामी डम्बरबहादुर बुढाथोकीको उपचार र बीमा व्यवस्थापनका नाममा करोडौँ रुपैयाँ लिए, र पछि घरबाटै चेकबुक चोरी गरेर फर्जी चेक बाउन्स गराई परिवारलाई कानुनी तथा मानसिक दबाबमा पार्न खोजे।
घटनाक्रमको सुरुवात २०७७ सालबाट भएको हो। त्यतिबेला कुष्माका बुबा डम्बरबहादुर बुढाथोकी क्यान्सरसँग जुधिरहेका थिए। परिवारका अनुसार यही कठिन घडीमा जीवनप्रसाद बास्कोटा उनीहरूको सम्पर्कमा आएका थिए। बास्कोटाले बीमा प्रक्रियाको माध्यमबाट भविष्यमा परिवारलाई आर्थिक सुरक्षा दिलाउन सकिने विश्वास दिलाएको दाबी पीडित पक्षको छ।
कुष्माकी बहिनी सुमना बुढाथोकीका अनुसार बास्कोटाको सल्लाह र आग्रहमा परिवारले विभिन्न चरणमा ठूलो रकम उपलब्ध गरायो। सुरुमा २५ लाख रुपैयाँ नगद दिइएको, त्यसका लागि करिब १५ लाख रुपैयाँ बराबरको सुनसमेत बेच्नुपरेको उनीहरूको भनाइ छ। त्यसपछि २०७७ पुस ७ गते डम्बरबहादुरको निधन भयो। मृत्यु पश्चात् बीमा प्रक्रिया र कागजी काम पूरा गर्नुपर्ने भन्दै बास्कोटाको घरमा आउजाउ झन् बढेको परिवारको दाबी छ।
त्यसबीच सर्लाहीमा रहेको जग्गा बिक्रीबाट प्राप्त रकममध्ये ३० लाख रुपैयाँ बास्कोटालाई दिइएको र पछि अमेरिकामा रहेकी कुष्माको नाममा रहेको सानिमा बैंकको सेयर धितो कर्जाबाट स्वीकृत ४२ लाखमध्ये ३० लाख ५० हजार रुपैयाँ आरटीजीएसमार्फत बास्कोटाको खातामा पठाइएको आरोप छ। विभिन्न समयमा दिइएको रकम जोड्दा कुल २ करोड ८ लाख रुपैयाँ पुगेको परिवारको दाबी छ।
तर घटनाले नाटकीय मोड त्यतिबेला लियो, जब अमेरिका बसिरहेकी कुष्माले आफ्नो निष्क्रिय बैंक खातासँग सम्बन्धित इमेलमा ‘चेक बाउन्स’ को सूचना प्राप्त गरिन्। पहिलो सूचना जीवनप्रसाद बास्कोटाको नाममा जारी गरिएको १ करोड ८५ लाख रुपैयाँको चेकसँग सम्बन्धित थियो। परिवारका अनुसार उक्त चेकमा सन् २०२६ को मिति राखिएको थियो।
त्यसको केही समयपछि सोही चेकबुकको अर्को पाना प्रयोग गरी प्रतिनिधिसभा सदस्य आशिका तामाङको नाममा १ करोड ३५ लाख रुपैयाँको अर्को चेक बाउन्स भएको सूचना आयो। उक्त चेकमा २०८३ जेठ २४ गतेको मिति उल्लेख गरिएको बताइएको छ।
यही बिन्दुबाट विवादमा सांसद आशिका तामाङको नाम प्रवेश गरेको हो। कुष्मा बुढाथोकीका अनुसार आफू अमेरिका गएपछि निष्क्रिय रहेको बैंक खाताको चेकबुक घरमै रहँदा चोरी भएको थियो र त्यसैको दुरुपयोग गरी किर्ते हस्ताक्षरका आधारमा चेकहरू प्रयोग गरियो। ‘हाम्रो खातामा कहिल्यै यति ठूलो कारोबार भएको थिएन। घरमा आउजाउ गर्ने क्रममा चेकबुक हराएको थियो। बास्कोटाले नै चोरेको हुनुपर्छ भन्ने हाम्रो आशंका छ,’ उनले भनिन्।
सबैभन्दा ठूलो प्रश्न भने अर्को छ—यदि चेकबुक चोरी भएको हो भने त्यसै चेकबुकको अर्को पाना सांसद आशिका तामाङको नाममा कसरी प्रयोग भयो? परिवारका अनुसार आशिका तामाङको नाममा चेक बाउन्स भएको घटनापछि दिलीप उप्रेती नामका व्यक्ति उनीहरूको सम्पर्कमा आएका थिए। आफू सांसद तामाङको सहसचिव भएको परिचय दिएका ती व्यक्तिले पैसा नतिरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको आरोप परिवारको छ।
कुष्माका अनुसार परिवारलाई ‘सीआईबी परिचालन गरिने’, ‘इन्टरपोलमार्फत अमेरिकाबाट पक्राउ गराइने’ र ‘जीवनभर समस्या सिर्जना गरिने’ जस्ता धम्कीहरू दिइएको थियो। यिनै घटनाक्रमपछि परिवार ठगी तथा किर्तेसम्बन्धी उजुरी लिएर प्रहरी परिसर काठमाडौं पुगेको थियो।
तर पीडित पक्षका अनुसार प्रहरीले तत्काल जाहेरी दर्ता गर्न मानेन। उल्टै विभिन्न प्रश्न गरेर आफूहरूलाई हतोत्साहित गरिएको र सांसदको नाम जोडिएको विषय भएकाले उजुरी लिन आनाकानी गरिएको आरोप परिवारको छ।
प्रहरीबाट अपेक्षित सहयोग नपाएको भन्दै परिवार राष्ट्रिय मानवअधिकार आयोग पुगेको थियो। कुष्मा बुढाथोकीका अनुसार आयोगले प्रहरीलाई उजुरी दर्ता गरी आवश्यक अनुसन्धान गर्न निर्देशन दिएपछि मात्रै प्रहरी सकारात्मक बनेको छ। उनले सोमबार जाहेरी दर्ता हुने आशा व्यक्त गरेकी छिन्।
यता आरोपित जीवनप्रसाद बास्कोटाले भने आफूविरुद्ध लगाइएका सबै गम्भीर आरोप अस्वीकार गरेका छन्। उनका अनुसार यो विषय ठगी वा किर्तेसँग सम्बन्धित नभई विशुद्ध व्यक्तिगत आर्थिक लेनदेनको विवाद हो। ‘हामीबीच धेरै वर्षदेखिको लेनदेन थियो। अहिले आएर त्यसलाई ठगी भन्न मिल्दैन,’ बास्कोटाले प्रतिक्रिया दिँदै भने, ‘बैंकले हस्ताक्षर नमिलेको भनेको छैन। खातामा रकम नभएकाले चेक बाउन्स भएको हो।’
आशिका तामाङसँग आफ्नो कुनै प्रकारको मिलेमतो, पहुँच वा आर्थिक सम्बन्ध नरहेको दाबी पनि उनले गरेका छन्। ‘आशिका तामाङको विषय छुट्टै हो। उहाँसँग मेरो कुनै कनेक्सन छैन। उहाँको र उहाँहरूबीच के लेनदेन थियो, त्यो उहाँहरूकै विषय हो,’ उनले भने। त्यस्तै, आफूले कहिल्यै नेपाल लाइफ इन्स्योरेन्सको एजेन्ट वा अधिकारीको परिचय दिएर पैसा नलिएको दाबीसमेत बास्कोटाले गरेका छन्।
यस घटनाले अहिले दुई फरक तर समान रूपमा गम्भीर प्रश्न उठाएको छ। पहिलो—क्यान्सर पीडित परिवारबाट करोडौँ रुपैयाँ ठगी भएको आरोप सत्य हो कि होइन? दोस्रो—कथित फर्जी चेक प्रकरणमा सांसद आशिका तामाङको नाम कसरी जोडियो? यी दुवै प्रश्नको उत्तर अब प्रहरी अनुसन्धान, बैंकिङ अभिलेख, चेकको फरेन्सिक परीक्षण, आर्थिक कारोबारका प्रमाण र सम्बन्धित पक्षहरूको बयानबाट मात्रै स्पष्ट हुन सक्ने देखिन्छ।
हालसम्म यो प्रकरण आरोप र प्रत्यारोपको चरणमै छ। तर एकातिर करोडौँ रुपैयाँको कथित आर्थिक अनियमितता, अर्कोतिर सांसदको नाम जोडिएको चेक बाउन्स विवाद र त्यससँगै प्रहरीको भूमिकामाथि उठेका प्रश्नले यो घटनालाई सामान्य व्यक्तिगत लेनदेनको विवादभन्दा धेरै ठूलो सार्वजनिक चासोको विषय बनाएको छ। आगामी दिनमा अनुसन्धानले कुन दिशा लिन्छ, त्यसले मात्रै यो विवादको वास्तविक तस्वीर सार्वजनिक गर्नेछ।

