घरमा ठोक्कियो मिनी ट्रक, एक जनाको मृत्यु, चालक नियन्त्रणमा
सिमरा– बाराको कलैया उपमहानगरपालिका–४ मा सोमबार राति मिनी ट्रक अनियन्त्रित भई घरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। दुर्घटनामा जीतपुर सिमरा उपमहानगरपालिका–८ इमलीप्रतिका ४० वर्षीय शिवनारायण पासवानको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको बा १ क ४८३६ नम्बरको खाली टाटा मिनी ट्रक गुप्ता पेट्रोल पम्प नजिकै पुगेपछि अनियन्त्रित भई स्थानीय सुरेश साह कानुको घरमा ठोक्किएको थियो। दुर्घटनापछि गम्भीर घाइते भएका पासवानलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका देवनारायण चौधरी (५०) को टाउको तथा दुवै हातखुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मिनबहादुर घलेका अनुसार दुर्घटनालगत्तै ट्रक चालक रौतहटको गुजरा नगरपालिका–९, सिमरा भवानीपुर निवासी २७ वर्षीय राजुकुमार चौधरीलाई नियन्त्रणमा लिइएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा ट्रक अनियन्त्रित भएर दुर्घटना भएको जनाएको छ। दुर्घटनाबाट स्थानीय सुरेश साह कानुको घरको पर्खालमा समेत क्षति पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

