रौतहटमा दिनदहाडै खुकुरी प्रहारः महिलाको घटनास्थलमै मृत्यु, स्थानीयको कुटपिटबाट आक्रमणकारी घाइते
जनकपुर– रौतहटको गुजरा नगरपालिका–५, हरिहरपुरमा शुक्रबार बिहान भएको खुकुरी प्रहारमा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। स्थानीय ४५ वर्षीया रेनुदेवी जयसवालमाथि धारिलो हतियारले आक्रमण गरेको आरोपमा ३५ वर्षीय उपेन्द्र साह कलवार पक्राउ परेका छन्।
घटनापछि आक्रोशित स्थानीयले नियन्त्रणमा लिएर कुटपिट गरेपछि उपेन्द्र पनि गम्भीर घाइते भएका छन्। प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार बिहान करिब साढे १० बजे गुजरा नगरपालिका– ५ हरिहरपुर टोलमा उक्त घटना भएको हो।
बाराको करैयामाई गाउँपालिका–८, इटहर बेलाही स्थायी घर भई हाल हरिहरपुरमा बस्दै आएका उपेन्द्र साह कलवारले स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती रेनुदेवी जयसवालमाथि खुकुरी प्रहार गरेका थिए। प्रहरीका अनुसार रेनुदेवीको घाँटीमा गम्भीर चोट लागेको थियो। अत्यधिक रक्तस्रावका कारण उनको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
घटनापछि उपस्थित स्थानीयवासी आक्रोशित बनेका थिए। उनीहरूले आक्रमणकारी उपेन्द्रलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनलाई चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुरमा उपचार गराइएको थियो। अवस्था जटिल देखिएपछि थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा डीएसपी वसन्त गौतमले जानकारी दिए।
डीएसपी गौतमका अनुसार आक्रमणको वास्तविक कारण अझै खुल्न सकेको छैन। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र इलाका प्रहरी कार्यालय लक्ष्मिनियाबाट प्रहरी निरीक्षक राजेश कुमार खत्रीको नेतृत्वमा खटिएको टोलीले घटनास्थल पुगेर प्रमाण संकलन तथा अनुसन्धान अघि बढाएको उनले बताए।
प्रहरीले घटनामा प्रयोग गरिएको धारिलो हतियार, घटनास्थलको अवस्था तथा अभियुक्त र मृतकबीचको सम्बन्धलगायत सबै पक्षको अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट घटनाको उद्देश्य पुष्टि नभएकाले त्यसबारे आधिकारिक निष्कर्ष आउन बाँकी रहेको प्रहरीले स्पष्ट पारेको छ।

