घुमुवाको बयानले खोल्यो सीमा तस्करीको ‘कालो नेटवर्क’: सशस्त्रका सईदेखि एसपीसम्म अनुसन्धानमा

विराटनगर– नेपाल–भारत सीमामा हुने तस्करी, अवैध असुली र सुरक्षाकर्मी–तस्करबीचको कथित साँठगाँठबारे सशस्त्र प्रहरी बलभित्रै भइरहेको आन्तरिक अनुसन्धानले संगठनलाई नै हल्लाउने खालका नयाँ तथ्यहरू उजागर गर्न थालेको छ।

प्रारम्भमा एक हवल्दारमाथिको आर्थिक गतिविधिको गुनासोबाट सुरु भएको छानबिन अहिले सई, इन्स्पेक्टर, डीएसपी हुँदै एसपीसम्म पुगेको छ भने अनुसन्धानका क्रममा दिएको बयानमा मासिक रूपमा तस्करबाट उठाइने रकम संगठनको माथिल्लो तहसम्म पुग्ने गरेको दाबी भएपछि प्रकरणले नयाँ मोड लिएको छ।

मुख्यालय स्रोतका अनुसार सुनसरीको पकलीस्थित पूर्व क्षेत्रीय अस्पतालमा प्रशासनतर्फ कार्यरत सशस्त्र प्रहरीका सई गणेश खड्का दुई सातादेखि मुख्यालयको छानबिनमा छन्। उनले अनुसन्धान अधिकृतसमक्ष दिएको बयानमा इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेती, हरिपुर सीमा सुरक्षा गुल्म सुनसरीका डीएसपी शम्शेर कार्की तथा बीओपी लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्दको नाम किटान गर्दै तस्करबाट मासिक रूपमा उठाइने रकमको संयन्त्रबारे विस्तृत जानकारी दिएको स्रोतको दाबी छ। त्यसपछि ती अधिकृतहरूलाई पनि मुख्यालय तानेर बयान लिन थालिएको छ।

यो अनुसन्धानको सुरुवात भने झापास्थित ३८ नम्बर रिजर्भ गणका हवल्दार हरिबहादुर मगरको आर्थिक गतिविधिबारे सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको सचिवालयमा परेको गुनासोबाट भएको थियो। छानबिनका क्रममा मगरले आफूलाई सई गणेश खड्काले तस्करबाट रकम उठाउन परिचालन गरेको बयान दिएका थिए। त्यसपछि अनुसन्धान खड्कासम्म पुगेको र खड्काको बयानले थप अधिकृतहरूलाई अनुसन्धानको दायरामा ल्याएको बताइएको छ।

मुख्यालय स्रोतका अनुसार छानबिनमा संलग्न कर्मचारीहरूको बयानमा तस्करबाट नियमित रूपमा रकम उठाएर इन्स्पेक्टर, डीएसपी हुँदै अझ माथिल्लो तहसम्म पु¥याइने गरिएको उल्लेख छ। स्रोतका अनुसार अनुसन्धान अब सम्बन्धित अधिकृतहरूको बयान र उपलब्ध प्रमाणमा केन्द्रित छ।

अनुसन्धानलाई थप गम्भीर बनाउने अर्को आधार आर्थिक कारोबार बनेको छ। प्रारम्भिक बैंक विवरण परीक्षणमा सई गणेश खड्का र अनुसन्धानमा तानिएका केही तल्लो दर्जाका कर्मचारीहरूको खातामा ८ देखि १० लाख रुपैयाँसम्मको असामान्य कारोबार देखिएको स्रोतले जनाएको छ। त्यसपछि उनीहरूको आर्थिक गतिविधिमाथि विस्तृत अनुसन्धान सुरु गरिएको हो।

गाईगोरु तस्करीदेखि लागुऔषधसम्म फैलिएको अनुसन्धान
अनुसन्धानबाट खुलेका प्रारम्भिक विवरणअनुसार सीमा क्षेत्रमा नियन्त्रणमा लिइएको देखाइने गाईगोरु भन्सार कार्यालयमा बुझाइन्थ्यो। त्यसपछि भन्सारले न्यून मूल्यमा लिलाम गर्ने र तिनै गाईगोरु पुनः तस्करहरूले खरिद गरी भारततर्फ लैजाने गरिएको आशंका गरिएको छ। नेपालतर्फको सीमा सहज रूपमा पार गराउन सुरक्षाकर्मीको मिलेमतो रहेको विषय पनि अनुसन्धानको केन्द्रमा परेको छ।

छानबिन अहिले गाईगोरु तस्करीमा मात्र सीमित छैन। केही दिनअघि भारतीय प्रहरीले बरामद गरेको गाँजा र चरेस सीमा कटाउने घटनामा पनि यही नेटवर्कका केही कर्मचारीको संलग्नता हुन सक्ने आशंकामा छुट्टै अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।

अनुसन्धानसँग जोडिएका एक उच्च अधिकारीका अनुसार अर्को गम्भीर विषय भने अवैध रकम उठाउने शैली हो। प्रारम्भिक बयानमा केही तस्करसँग ‘डीआईजी, भन्सार प्रमुख र सीडीओसम्म मासिक बुझाउनुपर्छ’ भन्दै रकम असुली गरिएको उल्लेख आएको छ। यद्यपि, यसबारे हालसम्म कुनै आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन र अनुसन्धान जारी छ।

पूर्व डीआईजीसम्म पुगेको दाबी
मुख्यालय स्रोतका अनुसार छानबिनका क्रममा सई गणेश खड्काले दुई वर्षअघि सेवा छाड्ने तयारी गरेका बेला तत्कालीन डीआईजी कमल गिरीले राजीनामा दिन नदिएको तथा कोशी प्रदेशमा कार्यरत रहँदा आफूमार्फत उठाइने रकम गिरीसम्म पुग्ने गरेको दाबी बयानमा गरेका छन्। तर, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन र यस विषयमा पनि अनुसन्धान जारी रहेको बताइएको छ।

झापा, सुनसरी र इलामका अधिकृत अनुसन्धानमा
सशस्त्र प्रहरी बल मुख्यालयले कोशी प्रदेशका विभिन्न जिल्लामा कार्यरत अधिकृतहरूलाई जिम्मेवारीबाट हटाएर काठमाडौं बोलाएको छ। अनुसन्धानको दायरामा परेकामध्ये सशस्त्र प्रहरी बल नेपाल नम्बर २ हेडक्वार्टर झापाका प्रमुख एसपी अम्बिकाप्रसाद जोशी, नम्बर ४ हेडक्वार्टर सुनसरीका प्रमुख एसपी श्यामकुमार कार्की, प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरका डीएसपी शम्शेर कार्की, इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेती तथा बीओपी लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्द छन्।

मुख्यालय स्रोतका अनुसार झापाका एसपी जोशीमाथि घुमुवा परिचालन गरेर तस्करीमा संलग्न समूहसँग मिलेमतो गर्दै रकम असुली गरेको आरोप छ। यो आरोप हवल्दार हरिबहादुर मगरको बयानपछि अनुसन्धानमा आएको बताइएको छ। मगरले ३८ नम्बर रिजर्भ गणका प्रमुख एसपी दिनेश बस्नेतलाई समेत रकम बुझाउने गरेको आरोप बयानमा उल्लेख गरेको स्रोतको दाबी छ। यद्यपि, बस्नेत हालसम्म औपचारिक रूपमा अनुसन्धानको दायरामा ल्याइएका छैनन्।

सुनसरीका एसपी श्यामकुमार कार्कीमाथि पनि घुमुवामार्फत नेपाल–भारत सीमामा तस्करीको लाइन सञ्चालन गरेको आरोप छ। मुख्यालय स्रोतका अनुसार जवान पारस यादवसहितका कर्मचारीको बयानपछि उनी अनुसन्धानमा तानिएका हुन्। हरिपुर सीमा सुरक्षा गुल्मका डीएसपी शम्शेर कार्कीमाथि पनि सीमा क्षेत्रमा लागुऔषध, लत्ताकपडा, खाद्यान्न र अन्य वस्तुको अवैध ओसारपसार सहज बनाएको आरोप लागेको छ।

त्यस्तै, इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेतीमाथि काँकडभिट्टामा रहँदा वरिष्ठ हवल्दार केशव गुरुङलाई घुमुवाका रूपमा परिचालन गरेर अवैध असुली गराएको आरोप छ। बीओपी लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्दमाथि पनि तस्कर समूहसँग साँठगाँठ गरी लागुऔषध तथा अन्य मालवस्तुको तस्करीबाट रकम उठाएको आरोपमा अनुसन्धान भइरहेको छ।

प्रवक्ताको पुष्टिः छानबिन जारी, दोषीलाई कारबाही
सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले आर्थिक अनियमितता, अनुशासन उल्लंघन र विभागीय नीति विपरीत गतिविधिमा संलग्न भएको आरोप लागेका केही कर्मचारीमाथि आन्तरिक छानबिन भइरहेको पुष्टि गरेका छन्।

उनका अनुसार असार १० गतेदेखि संगठनको कानुन निर्देशनालयमार्फत विभिन्न कर्मचारीमाथि अनुसन्धान भइरहेको छ। उनले भने, ‘जसले संगठनको नीति र नियमविपरीत अनुशासनहीन गतिविधि गरेका छन्, उनीहरूमाथि कानुन निर्देशनालयले अनुसन्धान गरिरहेको छ। महानिरीक्षकबाट पनि यस्ता गतिविधिमा संलग्न जो–कोहीमाथि निर्मम ढंगले छानबिन गरी दोषी पाइए विभागीय कारबाही गर्न निर्देशन भएको छ।’

डीआईजी कार्कीले सीमा क्षेत्रमा हुने तस्करी तथा अवैध गतिविधिप्रति संगठनले शून्य सहनशीलताको नीति अपनाएको र दोषी पुष्टि भए कसैलाई पनि छुट नदिइने स्पष्ट पारे।

आरोपित अधिकृतहरूको प्रतिक्रिया
झापाका एसपी अम्बिकाप्रसाद जोशीले आफूलाई छानबिनका लागि नभई तालिम, गोष्ठी तथा केही प्रशासनिक विषयमा छलफलका लागि काठमाडौं बोलाइएको दाबी गरेका छन्। उनले सञ्चारमाध्यममा आफ्नो भनाइ नलिई समाचार प्रकाशित गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्।

सुनसरीका एसपी श्यामकुमार कार्कीले पनि मुख्यालयको पत्रअनुसार काठमाडौं आएको बताए। उनले घुमुवा परिचालन गरेर अवैध रकम उठाएको आरोप अस्वीकार गर्दै सीमा क्षेत्रमा सूचना संकलन, तस्करी नियन्त्रण र बरामद कार्यका लागि घुमुवा परिचालन गरिने नियमित अभ्यास भएको दाबी गरे।

सीमा सुरक्षामाथि गम्भीर प्रश्न
नेपाल–भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्ने मुख्य जिम्मेवारी सशस्त्र प्रहरीको भए पनि पछिल्लो समय तस्करी, अवैध असुली र सुरक्षाकर्मी–तस्कर साँठगाँठसम्बन्धी गुनासो बढ्दै गएको छ। विशेषगरी झापा र सुनसरी क्षेत्रबाट अवैध कारोबार बढेको भन्दै स्थानीय जनप्रतिनिधि, व्यवसायी तथा सर्वसाधारणले पटक–पटक प्रश्न उठाउँदै आएका छन्।

यदि छानबिनबाट आरोपहरू पुष्टि भए, यो प्रकरण केही व्यक्तिको अनुशासन उल्लंघनमा मात्र सीमित रहने छैन, यसले सीमा सुरक्षाको विश्वसनीयता, राजस्व चुहावट, सुशासन र सुरक्षा संयन्त्रभित्रको आन्तरिक उत्तरदायित्वबारे समेत गम्भीर बहस जन्माउने देखिन्छ। हालका लागि भने सशस्त्र प्रहरी मुख्यालयले अनुसन्धान जारी रहेको र अन्तिम निष्कर्षपछि मात्र आवश्यक विभागीय तथा कानुनी कारबाही अघि बढाइने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट