खाजा खान यात्रु र चालक ओर्लिए, आफैँ गुडेको बस ५० मिटर तल खस्यो; दुई तीर्थयात्रीको मृत्यु

काठमाडौँ— दुप्चेश्वर महादेवको दर्शनका लागि तीर्थयात्री बोकेर गएको बस चालक र यात्रु खाजा खान ओर्लिएका बेला आफैँ गुडेर सडकबाट करिब ५० मिटर तल खस्दा नुवाकोटमा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा आज भएको दुर्घटनामा काभ्रेको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती (डङ्गोल) र रामेछापको खाँडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार दुर्घटनालगत्तै उद्धार गरेर घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको थियो। अस्पताल पु¥याएपछि चिकित्सकले दुई तीर्थयात्रीको मृत्यु भएको जानकारी प्रहरीलाई दिएका थिए।

दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ की २५ वर्षीया सुजता पोखरेल, काभ्रेको बनेपा नगरपालिका–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ की ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन्। उनीहरूको काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख इन्स्पेक्टर बिनोद ढकालका अनुसार दुर्घटनामा परेको बा.प्र.०८–००१ ख ००५२ नम्बरको बस काठमाडौंंबाट तीर्थयात्री लिएर दुप्चेश्वर धामतर्फ जाँदै थियो।

थानाभञ्ज्याङमा बस सडकछेउमा रोकिएको थियो। चालक र यात्रुहरू खाजा खान बसबाट बाहिर निस्किएका बेला बस आफैँ गुड्न थालेको प्रहरीले जनाएको छ। गुडिरहेको बसले अगाडि रोकिराखेको बा.प्र.०३–००१ ज ११७६ नम्बरको विद्युतीय भ्यानलाई समेत ठक्कर दिएको थियो।

भ्यानलाई ठक्कर दिएपछि नियन्त्रणबाहिर पुगेको बस र विद्युतीय भ्यान दुवै सडकबाट करिब ५० मिटर तल खसेका थिए। दुर्घटनापछि घटनास्थलमा पुगेको प्रहरीले तत्काल उद्धार तथा घाइतेको उपचारका लागि आवश्यक समन्वय गरेको जनाएको छ।

बस आफैँ गुड्नुको कारण, चालकको लापरबाही वा अन्य प्राविधिक कारण भए–नभएको लगायतका विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। दुर्घटनापछि बस चालक काभ्रेको पाँचखाल नगरपालिका–७ का सीताराम आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार आचार्यलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नियन्त्रणमा लिइएको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट