पक्राउदेखि सम्पत्ति छानबिनसम्म सरकारमाथि ओलीको आक्रोश, ‘बालेन नेतृत्वको सरकारबाट देश चल्दैन’

विराटनगर — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालेन साह नेतृत्वको वर्तमान सरकारबाट देश सञ्चालन हुन नसक्ने दाबी गर्दै सरकारमाथि प्रतिशोध, राजनीतिक पक्राउ, झुटा मुद्दा र पक्षपातपूर्ण छानबिनको आरोप लगाएका छन्। इलामको फिक्कलमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारका पछिल्ला गतिविधिप्रति तीव्र असन्तुष्टि जनाउँदै आफूलाई समेत प्रतिशोधका आधारमा पक्राउ गरिएको दाबी गरे।

ओलीले सरकारले आफू, रमेश लेखकसहित अन्य नेताहरूलाई पक्राउ गरेको तथा झुटा मुद्दा लगाउने प्रयास गरेको आरोप लगाए। उनले सरकारका गतिविधिबाट विचलित हुनुपर्ने अवस्था नरहेको भन्दै देश निर्माणको जिम्मेवारी सबै नेपालीको भएको बताए।

‘हामी विचलित हुनुपर्ने कुनै आवश्यकता छैन। यो देश तपाईँ–हाम्रो हो। तपाईँ–हामीले यो देशको माया गर्नुपर्छ, यो देश बनाउनुपर्छ,’ ओलीले भने। सरकारले आफूमाथि राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै ओलीले आफूलाई पक्राउ गर्ने, नेताहरूलाई नियन्त्रणमा लिने र राजनीतिक रूपमा असहमत व्यक्तिमाथि मुद्दा लगाउने प्रयास भइरहेको दाबी गरे।

‘यो सरकारले प्रतिबन्ध लगायो। मलाई गिरफ्तार गर्‍यो, रमेश लेखकलाई गर्‍यो, अरू नेताहरूलाई गिरफ्तार गर्न थाल्यो। झुटा मुद्दा लगाउने कोसिस गरे,’ उनले भने। ओलीले सरकारको नियुक्ति प्रक्रियामाथि समेत प्रश्न उठाए। उनका अनुसार सरकारले आफूलाई मनपरेका व्यक्तिलाई नियुक्त गर्न पहिले रहेका अनुभवी व्यक्तिहरूलाई हटाउने र त्यसपछि आफ्ना निकटस्थलाई जिम्मेवारी दिने काम गरेको छ।

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगप्रति पनि ओलीले आक्रोश व्यक्त गरे। उनले आयोग निष्पक्ष छानबिनका लागि नभई छनोट गरेर मुद्दा लगाउने उद्देश्यले गठन गरिएको आरोप लगाए। ‘तथाकथित आयोग बनाएको रे। छानिछानी मुद्दा लगाउनको लागि,’ उनले भने।

ओलीले सम्पत्ति छानबिनमा समान मापदण्ड नअपनाइएको आरोप लगाउँदै न्यायाधीश, सेना र सरकारसँग सम्बन्धित व्यक्तिहरूलाई कानुनी दायराबाट बाहिर राखिएको दाबी गरे। उनले आफूहरूमाथि भने व्यक्तिगत सामानसम्मको स्रोत खोज्ने गरी छानबिन गर्न खोजिएको भन्दै व्यंग्य गरे।

‘उनीहरूलाई मुद्दा नै नलाग्ने कानुन बनाएको छ, न्यायाधीशलाई मुद्दा नलाग्ने। सेनालाई मुद्दा नलाग्ने। आफ्ना नातागोतालाई पनि मुद्दा नलाग्ने। १९० तोला सुनको पनि खोजबिन गर्न नपाइने,’ ओलीले भने, ‘हाम्रो चाहिँ यो लगाएको कपडा कुन पैसाले किनेको छ भनेर सोध्ने? यो स्टकोट कहाँबाट आयो? कुन टेलरले सिलाएको? धागो कहाँबाट ल्याइयो? मेसिनले सिलाइसक्यो कि हातले सिलाइसक्यो भनेर खोज्ने?’

ओलीले सरकारले सुनसरीमा साम्प्रदायिक विद्वेष र हिंसा भड्काएको आरोप पनि लगाए। सरकार आफैँले विभिन्न समुदायबीच विवाद उत्पन्न गराउने वातावरण बनाएको उनको दाबी थियो। ‘आफैँ विद्वेष, झगडा लगाउन खोज्ने। गोलबजार, सुनसरीमा विभिन्न किसिमको हिंसा भड्काइयो,’ उनले भने।

उनका अनुसार सरकारले आफ्ना कार्यकर्तालाई भेला गरेर आन्दोलन तथा विवादलाई नियन्त्रणमा ल्याउने प्रयास गरेको थियो। त्यसपछि सम्झौता गरेर अवस्था साम्य पारिएको ओलीको दाबी छ। ओलीले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको आशय व्यक्त गरेको विषयमा समेत आपत्ति जनाए। उनले राष्ट्रिय सीमा र सार्वभौमिकतासँग सम्बन्धित विषयमा प्रधानमन्त्रीबाट आएको यस्तो अभिव्यक्ति उचित नभएको संकेत गरे।

इलाम पुगेका ओलीले आफ्नो सम्बोधनमा सरकारका कामकारबाहीदेखि राजनीतिक गिरफ्तारी, सम्पत्ति छानबिन र सीमा सम्बन्धी अभिव्यक्तिसम्मका विषय उठाएका हुन्। ओली यसअघि गृह जिल्ला झापा हुँदै इलाम पुगेका थिए। उनी शुक्रबार दिउँसो झापाको भद्रपुर विमानस्थलमा अवतरण गरेका थिए। विमानस्थलमा एमालेका नेता तथा कार्यकर्ताले उनको स्वागत गरेका थिए।

ओलीको सचिवालयका अनुसार उनी झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका हुन्। निर्वाचनपछि ओली पहिलोपटक झापा पुगेका हुन्। झापा र इलामको भ्रमणका क्रममा उनले पार्टीका नेता–कार्यकर्ता तथा विभिन्न कार्यक्रममा सहभागी हुँदै पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट