डीएसपीको परिवारै मार्ने घोषणा गरेका सांसद हाङ्गामलाई पक्राउ नगरेकोमा ओलीको आपत्ति

काठमाण्डौं– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन्।
ताप्लेजुङका डीएसपी राजन लिम्वु र उनको परिवारलाई धम्क्याउने प्रदेश सांसद खगेनसिंह हाङ्गामलाई पक्राउ नगरेर आतंककारी गतिविधिलाई समर्थन गरेको उनको आरोप छ।
कोशी प्रदेशसभामा कांग्रेस सांसद खगेनसिंह हाङ्गामले ताप्लेजुङका डीएसपी राजन लिम्बू र उनको परिवारलाई धम्क्याएका थिए । उनले कांग्रेसको सरकार वनेपछि डिएसपीका बाबुआमा र छोराछोरीलाई खोजी खोजी मार्ने घोषणा गरेका छन्।
प्रशासन र जिल्ला प्रहरी कार्यालय अगाडि नै कोणसभा गरेर यसरी धम्की दिनेलाई पक्राउ नगरेको भन्दै ओलीले सरकारको आलोचना गरेका हुन् । एमाले पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित कार्यक्रममा ओलीले भने–‘ताप्लेजुङ जिल्ला डीएसपी राजन लिम्बू भन्ने मान्छे रहेछन् । केही आतंककारीहरूले उनको हत्या गर्ने, उनको परिवारको पनि हत्या गर्ने आदि इत्यादि भनेर धम्क्याएर अनेका खालको एसएमएस पठाउने देखि लिएर के–के गरेका छन् भनेर म अघि सुन्दै थिएँ ।’
उनीहरूको साम्प्रदायिक विद्वेष, घृणा, समाजमा हिंसा फैलाउने, त्रास फैल्याउने, समाज बिथोल्ने कुरामा ती डीएसपी सहभागी नभएका कारण सरकार आफैँले यस्ता कुराहरूलाई प्रोत्साहित गरिराखेको ओलीको आरोप छ। ‘मार्छु भनिराखेको छ, सपरिवार मार्छु भनिराखेको छ, त्यस्ता मान्छेहरूलाई नियन्त्रणमा लिन्न ।’– उनले भने।