जी–२० को शिखर सम्मेलनपछि अन्तर्राष्ट्रिय मञ्चमा उचालियो मोदीको हाईट

रूस–युक्रेन युद्धलाई लिएर ध्रुवीकृत रहेको जी–२० को मञ्चलाई एकीकृत गरेर साझा घोषणापत्र जारी गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हाईटले अन्तर्राष्ट्रिय स्तरमा अझै उचाई लिएको छ।

साझा घोषणपत्रलाई भारतको कूटनीतिक सफलताका रुपमा व्याख्या गरिएको छ । जी–२० का सबै सदस्य राष्ट्रले घोषणा पत्रलाई प्रंशसा गरेका छन् । गतवर्ष २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेयता उक्त युद्धलाई लिएर अमेरिका, बेलायात, क्यानाडा, जापान, युरोपियन युनियन जस्ता शक्तिशाली देशहरु रूसको विरोधमा उभिएका छन् । रूसमाथि अनेकन प्रतिबन्धनहरु लगाएका छन् ।

रूस पनि जी–२० को सदस्य राष्ट्र हो। पश्चिमा देशहरुले रूसलाई एक्लाउने र चीनको बलियो साथ पाएको रुसले त्यसलाई कुनै पनि हालतमा नस्विकार्ने नीति लिँदै आएका थिए । त्यो ध्रुवीकरणको बीचमा भारतले अमेरिकाले नेतृत्व गर्दै आएको रूस विरोधी गुट र यता रूस–चीनको गुटलाई समन्वय गर्ने कूटनीतिक कौशल देखाउन सफल भएकोमा प्रशंसा भईरहेको छ।

दुई दिनको सम्मेलनमा पहिलो दिन नै साझा घोषणापत्र आएको थियो । घोषणापत्रमा रूसको नामै नलिइ युक्रेनमा जारी युद्ध र त्यसले पारेका असरहरुबारे प्रशस्तै चर्चा गरिएको छ । सदस्य नरहेको युक्रेनले भने उक्त घोषणापत्रप्रति असन्तुष्टि जनाएको छ।

भारतमा आयोजित शिखर सम्मेलनमा रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चीनफिङ अनुपस्थित थिए । रूसका तर्फबाट विदेशमन्त्री सर्गेई लावरोवले र चीनका तर्फबाट त्यहाँका प्रधानमन्त्री ली चियाङले प्रतिनिधित्व गरेका थिए ।

सम्मेलनमा युरोपियन युनियनसहित अन्य १९ सदस्य राष्ट्र, आमन्त्रित ९ देश तथा १४ अन्तर्राष्ट्रिय संगठनका नेताहरु सहभागी थिए ।
भारतले गत वर्ष डिसेम्बर १ मा जी–२० को अध्यक्षता पाएको हो । त्यसयता भारतका ६० स्थानमा २ सय बढी बैठकहरु भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट