शिक्षकको हत्या आरोपमा प्रेमीकाका बाबुछोरी दोषी, ३/३ वर्ष कैद

राजविराज– ४ वर्षअघि राजविराज नगरपालिका–२ स्थित पिस जोन मोडेल स्कुलका शिक्षक सप्तरीको तिरहुत गाउँपालिका–२ पिपराही गोइठीका २५ वर्षीय भट्टराई भनिने जयकृष्ण बिराजीको हत्या गरेको कसुरमा दुई जनालाई कैद सजाय भएको छ।

०७६ असार ११ गते भएको उक्त घटनामा राजविराज नगरपालिका–७ की २५ वर्षीया सन्तोषीकुमारी यादव र उनका बुबा ५० वर्षीय बिन्दु भनिने वीन्देश्वर यादवलाई कसुरदार ठहर गर्दै जिल्ला अदालत सप्तरीले जनही ३ वर्ष कैद सजाय गरेको हो।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलाशले आरोपितहरूले पीडित पक्षलाई एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने, जनही ३० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने र १ हजार र्२ सय रूपैयाँ फौजदारी कसूर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको सूचना अधिकारी गंगाकुमार मिश्रले बताए।

राजविराज–७ खर्साल टोलमा २०७६ असार ९ गते राति आठ जनाको समूहले विराजीमाथि कुटपिट गरेका थिए। घाईते भएका उनको उपचारका क्रममा विराटनगर स्थित नोवेल अस्पतालमा मृत्यु भएको थियो।

छोराको मृत्यु भएपछि मृतकका बुबा उपेन्द्रप्रसाद यादवले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी असार १२ गते दर्ता भएको थियो। विद्यालयको शिक्षकका साथै होस्टलका बार्डेनसमेत रहेका बिराजीलाई केटी साथी भेटन पुगेका बेला स्थानीय युवाहरुको समूहले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

गाउँटोलकी युवतीसँग प्रेम गर्ने गरेको र राति भेट्न आएको मौका पारेर उनीमाथि कुटपिट गरिएको थियो। मध्यरातमा केटीको घर अगाडि आएर फोन गर्न थालेपछि स्थानीय युवाहरूले पिछा गरेका थिए। लगातार फोन गरेको देखेपछि फोन खोस्न खोज्दा विवाद भएको थियो।

त्यसपछि भाग्दै गरेका विराजीलाई चोर भनेर हल्ला गर्दै लखेटेर कुटपिट गरिएको थियो। बेहोस अवस्थामा फेला परेका बिराजीलाई प्रहरीले उद्धार गरेर राजविराजस्थित अस्पताल भर्ना गरेको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई विराटनगर लगिएको थियो।

उक्त घटनामा राजविराज–७ खर्साल टोलका ३५ वर्षीय श्रवणकुमार महतो ०७७ चैत ५ गते पक्राउ परे। उनी चैत ३० गते दुई लाख धरौटीमा पुर्पक्षका लागि रिहा भएका थिए। ४० वर्षीय टुनटुन भनिने सुभाषचन्द्र यादव ०७८ जेठ ४ गते पक्राउ परेकोमा जेठ १० गतेको आदेशले तीन लाख रुपियाँ धरौटीमा रिहा भए। सुभाष २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा राजविराज नगरपालिका ६ बाट वडा अध्यक्ष निर्वाचित भएका छन्।

कर्तव्य ज्यान मुद्दाका आरोपितहरु वडा अध्यक्ष सुभाष, श्रवणसहित सोही टोलका ३१ वर्षीय प्रेम भनिने योगेशकुमार देव, ३० वर्षीय कमलु भनिने कमलदेब यादव, २७ वर्षीय शशी आनन्द देव र २३ वर्षीय प्रमोदकुमार यादवले अभियोग दावीबाट सफाइ पाएको अदालतका सुचना अधिकारी मिश्रले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट