यस वर्षको दसैंमा पूर्वराजारानीले शुभेच्छुकलाई टीका लगाइदिने
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैंमा सर्वसाधारणलाई टीका लगाई दिने भएका छन्। पूर्वराजाले आगामी कात्तिक ७ गते विजया दशमीका दिन शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने उनको संवाद सचिवालयले जनाएको छ।
पूर्वराजा ज्ञानेन्द्र र र पूर्वरानी कोमलले निर्मल निवासमा अपरान्ह ४ बजेदेखि टिका लगाइदिने जानकारी सचिवालयले दिएको छ ।
सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहबाट विजयादशमी पर्वका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारण सबैलाई अपरान्ह ४ बजे टीका बक्सने कार्यक्रम रहेको छ ।’
संविधानतः शाह पूर्व राजाको हैसियतमा भए पनि सचिवालयले ज्ञानेन्द्रलाई राजाकै हैसियतमा विज्ञप्ति जारी गर्ने गरेको छ। विज्ञप्तिमा सदा झै ज्ञानेन्द्रलाई श्री ५ महाराजाधिराज भनिएको छ भने पूर्वरानीलाई श्री ५ बडामहारानी भनिएको छ।