खोटाङमा खयर चोरी निकासीमा संलग्न ठेकेदारसहित ६ जना विरुद्ध पक्राउ पूर्जी, प्रहरीले वास्तै गरेन

दिक्तेल– खोटाङमा सामुदायिक वनको खयर अनुमति नलिई काटेर चोरी निकासी गरेको आरोपमा ६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

डिभिजन वन कार्यालय खोटाङले असोज–७ गते ठेकेदार अनिल राई र स्थानीयस्तरमा नेतृत्व गर्ने जोखबहादुर बस्नेतसहित छजना विरुद्ध मुद्दा दर्ता गरी पक्राउ पुर्जी जारी गरेको हो।

वन कार्यालयले जारी गरेको पक्राउ पुर्जी असोज–८ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा दर्ता भएको छ। तर, अहिलेसम्म पनि प्रहरीले उनीहरुलाई पक्राउ गरेको छैन।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले भने वन कार्यालयले दिएको पहिलो पत्रमा वन कार्यालयकै गल्ती भेटिएकाले अर्को पत्र मगाएर कारबाहीको प्रक्रिया अगाडि बढाइएको बताइन्।

सामुदायिक वनको खयर विनाअनुमति चोरी निकासी भइरहेको पाएपछि कोशी प्रदेश वन तथा वातावरण मन्त्रालय विराटनगरले सव–डिभिजन वन कार्यालय हलेसीका प्रमुख रामसागर मण्डललाई सरुवा गरेको छ भने बरामद भएको खयर डिभिजन वन कार्यालय खोटाङमा राखिएको छ।

घटनास्थलबाट तीन सय ६१ क्युफिट खयर बरामद भएको डिभिजन वन कार्यालयले जनाएको छ। अवैध रुपमा खयर चोरीरनिकासी गर्ने कार्यमा तत्कालीन कार्यालय प्रमुख मण्डलको संलग्नता रहेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालमा समेत उजुरी परेका जनाईएको छ।

अख्तियारले मण्डलको नाममा रहेको बैंक खाताको स्टेटमेन्ट मगाएको थियो। हलेसी तुवाचुङ नगरपालिका–४ कुन्तादेवी आमा समूहले गत साउन–२४ गते राति दुई वटा ट्याक्टरमा ‘लोड’ गरेर राखेको उक्त खयर बरामद गरेको थियो।

स्थानीय खोक्सेली सामुदायिक वनबाट अनुमतिविना खयरका रुख कटान गरी रातको समयमा निकासी गर्दै गरेको अवस्थामा खयर बरामद भएपछि त्यसको भोलिपल्ट गठन गरिएको छानबिन समितिले हप्ता दिनपछि साउन–३२ गते उक्त खयरका काठ चोरी/निकासीमा संलग्न रहेको ठहर गर्दै झापा घर भएका ठेकेदार राई र स्थानीय बस्नेतसहित छ जनालाई कारबाही गर्न डिभिजन वन कार्यालय खोटाङलाई पत्र लेखेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट