मान्यजनबाट टीका र जमरासहित आशिर्वाद थापेर विजया दशमी मनाईदै, उत्तम साईत ११ः०२ बजे
राजविराज– दसैंको मुख्य दिन आज नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाईदैछ।
पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीका दिन मान्यजनबाट लगाउने गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीका प्रसाद ग्रहण गर्ने शुभ साइत बिहान ११ बजेर ०२ मिनेटमा छ । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्यतया साइत जुराउन नपर्ने मान्यता छ ।
आज बिहान १० बजेर ३७ मिनेटमा देवी बिसर्जनको साइत रहेको समितिले जनाएको छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्वमा मान्यजनबाट टीका र आशिर्वाद थाप्न नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका ग्रहण गर्ने चलन छ।
असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडा दसैँको सबैभन्दा महत्वपूर्ण दिन हो ।
त्रेता युगमा भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।