सरकारी खर्चमा ९ दिनसम्म चलेको थियो वीरेन्द्र र ऐश्वर्यको विवाह

काठमाडौं– दरबार हत्याकाण्डमा बितेका पूर्वराजा वीरेन्द्र शाह २४ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएका थिए। गरिब देशको राजपरिवारले विवाहजस्तो निजी मामिला आयोजनामा अकुत खर्च गराएको भन्दै बाह्य जगतमा आलोचना भएको थियो।

मुलुकमा भने राजसी ठाँटबाँटलाई लिएर छक्क पर्ने र रमाइलो मान्ने क्रम पनि चलेको थियो। २०३१ सालको उक्त विवाह प्रसंगबारे न्यूयोर्क टाइम्समा प्रकाशित यो समाचार अहिले राजतन्त्रलाई लिएर विभिन्न कोणप्रतिकोणबाट छलफल चलिरहेका बेला पठनीय विषय हुन सक्ने ठानेर अनुवाद गरिएको छ।

बेलायतबाट चारवटा सेता घोडा नेपाल लगिएको छ। नेदरल्याण्डसबाट पुष्पगुच्छा पठाइँदैछ। नयाँ दिल्लीबाट दुईवटा विमानमा मिष्ठान परिकार पठाइँदैछ भने आगन्तुकहरुका लागि जापानबाट २०० वटा मोटर मगाइएको छ। सवारीका लागि ९ वटा हात्ती समेत तैनाथ हुँदैछन्।

सानो, गरिब र पुरानो पहाडी मुलुक नेपालले भावी राजाको भव्य विवाह समारोहको तयारी गरिरहेको छ। उनी कुनै दिन राजा पक्कै हुनेछन्। २४ वर्षीय बेहुला वीरेन्द्र वीरक्रम शाहदेव हाल युवराज छन् र उनी हिन्दु सिंहासनका उत्तराधिकारी हुन्।

वीरेन्द्रले नेपालमा वंशानुगत प्रधानमन्त्रीका रुपमा शासन गरेका राणा परिवारकी २० वर्षीया ऐश्वर्य राज्य लक्ष्मी देवी राणासँग विवाह गर्दैछन्। राणा परिवारलाई वीरेन्द्रका हजुरवुवा त्रिभुवनले सत्ता बाहिर पु¥याएका थिए। राणा र शाह परिवारबीच त्यसयता राजनीतिक सम्बन्ध नभए पनि सामाजिक सम्बन्ध भने कायमै थियो।

वीरेन्द्रका बुवा महेन्द्रले पनि राणा खान्दानसँगै विवाह गरेका थिए। छोराको विहे भव्यताका साथ सम्पन्न गर्नका लागि उनी व्यस्त छन्।

झकिझकाउ राजधानी
विभिन्न मुलुकका राष्ट्रप्रमुखसँगै ५० भन्दा बढी मुलुकका प्रतिनिधि समारोहमा सरिक हुने भएकाले हरित उपत्यकालाई अझै झकिझकाउ बनाइँदैछ। सडक र फुटपाथ मर्मत गरिएका छन्। सरकारी भवनहरु रंगरोगन गरी टल्काइएको छ। सडकमा वेबारिसे रहेका गाईवस्तु हटाइएका छन् । गरिबी ढाकछोपका लागि चारैतर्फ सतर्कतासिहत काम भइरहेको छ।

अधिकांश हिप्पीहरु पनि धपाइएका छन्। ३०० पाहुनाका लागि गतिला होटलका कोठाहरु बुक भएका छन्। विवाहको औपचारिक समारोह नै ९ दिनसम्म चल्ने भएकाले विदेशी पाहुनाले सहर खचाखच हुनेछ । पाहुनाको स्वागत सत्कारमा कुनै कमी हुन दिइएको छैन। ‘पाहुना हरेक पटक बाहिर निस्कँदा तौली परिवर्तन गरिएको छ’, एक व्यवस्थापकले भने।

विवाहमा ५० मुलुकका राष्ट्रप्रमुखलाई आमन्त्रण गरिएकोमा लाओसका राजा, भारतका राष्ट्रपति र सेइलोन (हाल श्रीलंका) का गभर्नर जेनरल उपस्थित हुनेछन् भने अन्यले प्रतिनिधि पठाउने निश्चित भएको छ। त्यहाँ अन्य मुलुकका राजपरिवारको पनि उपस्थिति हुनेछ। अफगानिस्तानले युवराज पठाउँदैछ। बेलायतले युवराज रिचर्डलाई पठाउने भएको छ। रिचर्ड र वीरेन्द्रको भेट एटनमा भएको थियो।

अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको सट्टामा ओहायोका सिनेटर विलियम बी र उनकी पत्नी सरिक हुने भएका छन्। अमेरिकाले सोभियत युनियन र चीनले कसलाई पठाउँछ भनेर साताव्यापी प्रतीक्षा गरेपछि उसले आफ्नो प्रतिनिधि घोषणा गरेको हो। रुसले विदेश मन्त्रालयका दक्षिण एशियाली प्रमुख ए ए फोमिनलाई पठाउने निश्चित गरेको छ। यता चीनले प्रधानमन्त्री झोउ इन लाइ पठाउने भनेपनि त्यसको संभावना न्यून छ।

सरकारी खर्चमा हुने विवाहको रकमलाइ लिएर निकै अड्कलबाजी भइरहेका छन्। विवाहमा १ करोड ६० लाख डलरसम्म खर्च हुने अनुमान भइरहेका छन्। यो रकम बढाचढाइ गरिएको हुनसक्छ किनभने नेपालको कुल राष्ट्रिय बजेटनै ६ करोड ६० लाख अमेरिकी डलर हो।

यस विवाहले १ करोड १० लाख मानिसलाइ कुनै उत्साह नथपे पनि केहीलाई भने रोजगारी प्रदान गरेको छ। काठमाडौँको सिंगार र नयाँ दरबारका साथै विवाह समारोहको तयारीका लागि मजदुरले काम पाएका छन्।

यस समारोहका कारण केही मनोरञ्जन पनि भएको छ। विवाह समारोह नजिकिँदै जाँदा सयौँ नेपाली बालबालिका तथा वयश्कहरु हात्ती वरिपरी झुम्मिएको दृश्य देख्न सकिन्छ। विवाह समारोहमा वीरेन्द्र हात्ती चढेर जानेछन्। त्यसको पूर्वाभ्यास हाल भइरहेको छ।

विवाहको समय र संस्कार ज्योतिषले निर्धारण गरेबमोजिम हुनेछ। नेपाली जनजीवन ज्योतिषको ठूलो प्रभाव छ। सामान्यतया दुलाहा र दुलहीको कुण्डली नमिलेको अवस्थामा विवाह हुँदैन। तर विवाह गर्नै परेको अवस्थामा ज्योतिषहरुले चलाखी गरेर उपाय निकाल्छन्।
साभारः अनलाईन खबर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट