रश्मीको ‘सहारा’ पाएपछि फेरिएको भुस्याहा कुकुरको जिन्दगी

विराटनगर– सन्सारमा सवैभन्दा वढि र अकल्पनिय दुःखलाई वर्णन गर्नु पर्दा नेपाली समाजमा एउटा उखान प्रचलनमा छ– ‘कुकुरले नपाएको दुःख।’ यो तीन शब्दको वाक्यले सन्सारको सवैभन्दा उच्च विन्दुको दुःख वोकेको छ। यो भन्दा माथिको दुःख ब्यक्त गर्ने अर्को कुनै शब्द छैन।
कुकुर यस्तो प्राणि हो, जुन मान्छेको दुःखको परिमाण मापन गर्ने इकाई भएको छ। यति कठोर र क्रुर छ, कुकुरले पाउने दुःख। तर, धेरै मानिस आफनो दुःख देखाउनका लागि मात्रै कुकुरको उदाहरण दिन्छन्, उनीहरुलाई नत कुकुरको दुःखका वारेमा थाहा हुन्छ, नत भनाईको मर्म नै थाहा हुन्छ। कुकुरले पाउँने दुःख कस्तो हुँदो हो, उनीहरुले कस्तो हण्डर खेप्दा होलान ? भनेर सोच्ने कमै छन्।
अझै भनौ ‘कुकुर मुला’को चासो राखेर त्यसको पछाडि लाग्ने फुर्सद कस्लाई ? तर, हाम्रै समाजमा कतिपय मान्छे यस्ता छन्, जसलाई कुकुर, विरालालगायत छाडा पशुचौपायाले पाएको दुःख देखेर मन कुँडिन्छ, उनीहरुको घाउले पोल्छ, उनीहरुको पीडाले चहर्याउँछ र मन छटपटिन्छ।
तिनै मध्येकी एक हुन, मधेश प्रदेशको विरगञ्जमा घर भई कोशी प्रदेशको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा स्त्रिरोग विशेषज्ञ रहेकी डा. रश्मी थापा। ४ वर्षअघिको कुरा हो। ५ मंसिर। नोवेलमा जागिरको पहिलो दिन। स्कुटर चढेर अस्पताल जाँदै गर्दा सडकमा कुदिरहेका कुकुरका छाउराले उनको मन तान्यो। साह्रै राम्रा, खेलाउँ–खेलाउँ लाग्यो। उनले स्कुटर रोकेर कुकुरका छाउरा सुम्सुम्याईन र आफनो वाटो लागिन। अस्पताल जाँदा–आउँदा निकै दिन यो प्रकृया चलिरह्यो। धेरै दिनसम्म आफुले बोकेको खाजा तिनै कुकुरका छाउरालाई खुवाईन। कुकुरसँग उनको एक खालको आत्मियता वढ्दै गयो।
एक दिन अस्पतालबाट डेरा फर्कदै गर्दा उनले देखिन्– उनीसँग खेल्ने मध्येको एउटा छाउरो सडकमै मरिरहेको थियो। गाडीको ठक्करले छाउरो मरेको देखेपछि उनको मन विचलित भयो। आफनै सन्तान छुट्टिए झै लाग्यो। त्यसपछि वाँकी अन्य छाउरा देखेर उनलाई रमाईलो भन्दा तनाव हुन थाल्यो।
‘अव यी छाउरा कसरी बचाउने ?’ भन्ने चिन्ताले उनलाई सताई रह्यो। उनले आफनो मनमा ढुङ्गा झै गाँठो परेर बसेको समस्या आफनो श्रीमान रोशन क्षेत्रीसँग फुकाईन। धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असिस्टेन्ट प्रोफेसर रहेका रोशनले रश्मीलाई सहयोग गर्ने वचन दिए।
उनकै सल्लाह अनुसार छाडा कुकुरको बन्ध्याकरण गर्ने र कुकुरको संख्या नियन्त्रण गर्ने निस्कर्ष निस्कियो। रश्मी त्यस्ता निकायको खोजीमा लागिन, जस्ले उनको उदेश्य अनुसारको काम गरोस। तर, त्यस्ता कुनै निकाय फेला परेनन्। कोरोनाको पहिलो चरण सुरु हुनु अघि उनी विराटनगर उपमहानगरपालिकाको कार्यालयमा पुगिन। त्यहाँ पनि पशुको क्षेत्रमा काम गर्ने कुनै कार्यक्रम नभएको जवाफ पाएपछि निरास भएर फर्किईन।
तर, जहाँ इच्छा त्यहाँ उपाय भने झै श्रीमान रोशनले एक जना भेटनरी डाक्टरसँग रश्मीको भेट गराई दिए। त्यसपछि उनै डाक्टरसँग मिलेर रश्मीले विराटनगरमा कुकुरको वन्ध्याकरण गर्ने शिविरको आयोजना गरिन। ब्यक्तिगत खर्चमा आयोजना गरिएको उक्त शिविरमा २ सय कुकुरको वन्ध्याकरण गरियो। झण्डै ६ लाख रुपैयाँ खर्च गरेर आयोजित उक्त शिविरले पनि रश्मिलाई सन्तोष दिएन। शिविर सकिएपछि उनलाई लाग्यो–यति मात्रै पर्याप्त छैन।
यहीबीचमा एउटा पक्षघाट (प्यारालाईज) भएको कुकुर (विजुली) ले उनलाई तनाव थप्यो। गाडीले हानेर प्यारालाईजड भएको विजुलीलाई उनले डेरामै राखेर उपचार गरिन। त्यसपछि उनलाई वन्ध्याकरणसहित विरामी पशुचौपायको उपचारका लागि सेल्टर पनि वनाउनु पर्ने कुराले प्रेसर गर्यो।
तर, हरेक वर्ष बन्ध्याकरणका लागि शिविर आयोजना गर्न र सेल्टरमा राखेर लाखौं खर्च गरी पशुको उपचार गर्न सोचिदिने र साथ दिने कस्ले ? गर्नु पर्ने त सरकारले हो। तर, सरकारले नगरेको र नगर्ने देखेपछि उनले सरकारलाई नै दबाब दिने योजना वनाईन। तर, एक्लो प्रयासले सरकारमाथि दबाब बनाउन पनि असम्भव थियो। त्यसैले उनले एउटा एनजीओ दर्ता गर्ने सोच वनाईन। उनको यही सोचले १८ पुस ०७८ मा विराटनगरमा ‘सहारा एनिमल केयर’को जन्म भयो।
सहाराले १८ पुस ०७८ देखि अहिलेसम्म छाडा पसुचौपायाको ब्यवस्थापनमा सरकारलाई जिम्मेवार वनाउने, शिविरको आयोजना गरी कुकुर लगायतका चौपाया बन्ध्याकरण गरी वृद्धिदर नियन्त्रण गर्ने, घाईते÷विरामी पशु चौपायाको उद्वार, उपचार र बासस्थानको ब्यवस्थापन गर्ने लगायतका काम गर्दै आएको छ।
रश्मीका अनुसार विराटनगर ५ स्थित सहाराको सेल्टरमा अहिले ३५ भन्दामाथि कुकुर उपचाररत छन्। एनजिओ दर्ता भएपछि सहाराको काममा विराटनगर उपमहानगरपालिकाले पनि चासो देखाएको छ। उपमहानगरको सहकार्य र आफनो ब्यक्तिगत लगानीमा उनले सहारा मार्फत २ पटक शिविर संचालन गरेकी छिन्। जसमा १ हजार १ सय कुकुरको वन्ध्याकरण भएको छ।
यसरी सुरु भयो सेल्टर
पक्षघात भएको विजुलीलाई उनले डेरामै राखेर उपचार गरिरहेकी थिईन। त्यसैक्रममा शिविरमा जम्मा भएका कतिपय कुकुरलाई सँगै राखेर उपचार गर्नु पर्ने अवस्था देखियो। क्यान्सर जस्ता गम्भिर रोग लागेका कुकुरलाई छोड्न नमिल्ने भएकाले घर मालिकसँग कुरा गरेर उनले एउटा कोठामै कुकुर राख्न थालिन।
सुरुमा १४ वटा क्यान्सर भएका कुकुरको उपचार गर्न थालेकोमा संख्या वढ्दै गएर ३०/३५ वटा भए। यसले ठाउँ साँघुरो भयो। वरिपरिका मान्छेलाई पनि डिस्टर्व भयो। गुनासो आउन थालेपछि केही दिनको समय मागेर जग्गा खोज्ने काम सुरु भयो। विराटनगरमा ५ मा १० कठ्ठा जति जग्गा भेटिएपछि उक्त जग्गा भाडामा लिएर सहाराले पशुचौपायाका लागि सेल्टर निर्माण गरेको छ। हालसम्म सेल्टर निर्माणमा करिव २५ लाख खर्च भएको छ भने अझै ३० प्रतिशत काम बाँकी नै छ।
रश्मीले अधुरै अवस्थामा विरामी कुकुर सेल्टरमा सारिन। अहिले सेल्टरमा निरन्तर २५–३५ वटा कुकुर हुन्छन। निको भएपछि उनीहरुलाई जहाँबाट ल्याईएको हो, सोही ठाउँमा छोड्ने गरिएको छ। यस वाहेक छाडा पशुलाई आहार वितरण गर्ने र लुतोलगायतका संक्रमणको रोकथामका लागि पनि सहाराले शिविर सञ्चालन गर्दै आएको छ।
अहिले एक पटक सहाराको सम्पर्कमा आएका पशु चौपायालाई रिफ्लेक्टिभ वेल्ट लगाई दिने गरिएको छ। जस्ले उनीहरुलाई दुर्घटनाबाट जोगिन मद्दत गर्छ।
यस्ता छन् कुकुरमा देखिने रोग
कुकुरमा पछिल्लो समय सीटीभीटी (ट्युमर) को समस्या तिव्र रुपमा वढिरहेको छ। जुन प्रजननको समयमा एउटाबाट अर्कोमा सर्छ। यस्तो रोग लागेका कुकुरलाई किमो चलाएर नै निको पार्नु पर्ने हुन्छ। रोग सर्ने डरले यस्ता कुकुरलाई सरकारी अस्पतालमा पनि उपचार गर्न अस्विकार गर्ने गरेको उनीसँग अनुभव छ।
विशेषगरी कात्तिक–मंसिर (डाँगो र छाउरी कुकुरको समागमको समय) मा कुकुरहरु आफै झगडा गरेर घाईते हुन्छन्। मान्छेले कुट्ने, तातो पानी खन्याई दिने लगायतका उपद्रोले पनि घाईते हुन्छन्। घाउमा किरा पर्छ र त्यसैको कारणले धेरै कुकुर मर्छन। मंसिर पुसतिर साना वच्चा सवारी दुर्घटनामा धेरै पर्छन। भाईरल इन्फेक्सन पनि कुकुरका लागि निकै खतरनाक हुन्छ। जुका, किर्ना, लुतो लगायतका समस्या कुकुरमा सदावहार देखिन्छ। लुतो लागेपछि धेरै कुकुरको रौं झर्छ। जसले गर्दा जाडोले पनि कुकुर मर्ने खतरा धेरै रहन्छ।
कुकुरमै समस्या किन धेरै ?
सहारा एनिमल केयर सवै छाडा पशुचौपायाको उपचार, स्याहार र ब्यवस्थापनका लागि स्थापना भएको संस्था हो। तर, खास गरी कुकुर नै समस्यामा धेरै पर्ने गरेको पाईएपछि उनीहरुकै ब्यवस्थापनले प्राथमिक्ता पाएको छ।
गाई÷गोरु, घोडा, गधा लगायतका जनावर प्रायः मान्छेको उत्पादनसँग जोडिन्छन्। जसले उनीहरुलाई मालिकले नै स्याहार गर्छन। तर, कुकुर यस्तो प्राणी हो, जो मान्छेसँग पूर्णरुपमा आश्रीत हुन्छ। तर प्रत्यक्ष रुपमा उत्पादनसँग जोडिदैन। त्यसैले मान्छेले नत पर्याप्त खान दिन्छ, नत विरामी हुँदा उपचार गर्छ। ‘कुकुर मुलालाई केको उपचार ?’ भन्ने मान्यता छ। घरमा पालेका कुकुर पनि विरामी परे वा प्रौढ हुँदै गए छाडा छोडिदिने प्रचन छ।
गाईवस्तु, वाख्रापाठा, घोडा, गधालगायतका जनावर वरु मान्छेको स्याहार नपाए पनि घाँस घाएर वाँच्छन्। तर, कुकुर मान्छेको जुठो नखाई वाँच्नै सक्दैन। त्यसैले सहाराको स्याहार पाउनेमा कुकुरको संख्या वढि छ।
आर्थिक र सामाजिक समस्या
पशु चौपायाको क्षेत्रमा काम गर्न सवै भन्दा धेरै आर्थिक संकट छ। सहारा पशु चौपायाका क्षेत्रमा काम गर्ने कोशी प्रदेशमै एक्लो संस्था हो। उसो त कतिपय संस्थाले कुकुरलाई खाना खुवाउनेसम्मका कार्यक्रम भने चलाएका रहेछन्। तर, उनीहरुको क्षेत्र सिमित छ। सेल्टर नै बनाएर पशु चौपायाको सहयात्री बन्ने संस्था सहारा मात्रै हो। राज्यका निकायमा पनि कुकुर लगायतका चौपायाको उपचार गर्नुपर्छ भन्ने चेतनाको विकास भएकै छैन। सहयोग कहिबाट छैन। उपचारका लागि अस्पतालसम्म पुर्याउने यातायातका साधनले वोक्नै नमान्ने समस्या छ। महंगो भाडा तिरेर मात्रै उपचारका लागि लान सकिन्छ।
अर्कोतर्फ समाजले पनि यस्तो कामलाई सकारात्मक रुपमा हेर्दैन। धेरैले अनावश्यक काम भन्दै आलोचना गर्छन। तर, कतिपयले भने सहयोग नै गर्ने गरेको रश्मी बताउँछिन्। तिनै सकहयोगी मध्येका दुई जनाले उनलाई पशु चौपायाको उपचार र स्याहारमा निरन्तर सहयोग गर्दै आएका छन्।
शिविर लगायतका ठुला काममा स्वयम सेवकको रुपमा सहयोग गर्नेहरु पनि अहिले प्रशस्त भेटिन थालेको उनी वताउँछिन्। तर, आर्थिक रुपमा सहयोग गर्नेहरु भने अहिलेसम्म कोही भेटिएका छैनन्। त्यसैले उनले अहिलेसम्म घर वनाउन र गाडी किन्नका लागि राखेको सवै पैसा पशुको स्याहारमा स्वाहा पारेकी छिन्।
अस्पतालबाट आएको तलव/भत्ता समेत उनले त्यसैमा खर्च गर्ने गरेकी छिन्। हालसम्म आफनो करिव ५० लाख रुपैयाँ सकिएको रश्मी बताउँछिन्। हाल मासिक रुपमा करिव ५० हजारको हाराहारीमा खर्च हुने गरेको उनको भनाई छ।