‘सामाजिक सञ्जालमा वेईजत गर्ने’ मिटरब्याजीको धम्कीले जलपरीले गरिन आत्महत्या?

काठमाडौं– मोडल तथा अभिनेत्री दीपाशा बीसी (जलपरी) ले २३ कात्तिकमा उडुस मार्ने औषधी सेवन गरेर आत्महत्या गरिन। मिटरब्याजको ऋण र प्रेममा धोका पाएका कारण उनले आत्महत्या गरेको आशंका गरिएको छ। तर, यही नै कारण हो भनेर निस्कर्ष निस्किएको छैन।

उनले चर्को ब्याजदरमा ऋण लिएको र तिर्न नसकेपछि ऋणदाताले ‘फेसबुक, टिकटकमा लेखेर बेईजत गर्ने’ धम्की दिएको खुल्न आएको छ। दीपाशाले के प्रयोजनका लागि र कति ऋण लिएकी थिइन् भन्ने अझै स्पष्ट भएको छैन।

दीपाशाले तीन वर्षअघि काठमाडौं मलमा ब्यूटी पार्लर (ग्लो ब्युटी स्टुडियो) खोलेकी थिइन्। ऋणको केही हिस्सा उनले त्यसैमा लगानी गरेको अनुमान छ। उक्त पार्लर पछिल्लो समय राम्ररी चलिरहेको थिएन। चर्को भाडा र खर्च धेरै भएकाले पार्लर घाटामा थियो।

घर भाडा मात्रै मासिक १ लाख २१ हजार र विजुलीको विल १५/१६ हजार पुग्थ्यो। १०/१२ जना स्टाफ काम गर्थे। सवै जोड्दा महिनामा ४ लाख रुपैयाँ जतिको खर्च थियो। प्रतिस्पर्धा पनि धेरै भएकाले पार्लरले फाईदा दिन सकेको थिएन। स्रोतका अनुसार घट्ना भएको समय (२२ कात्तिकको साँझ) मा पनि उनी पार्लरकै विषयमा चिन्तित देखिएकी थिईन।

दीपाशाले उमेश लम्साल (ब्युटीपार्लरका म्यानेजर)सँग भिडिओ कलमा कुरा गरीरहेकै वेला विष सेवन गरेको खुलेको छ। भिडिओ कलमा पार्लरसहित आर्थिक विषयमा नै कुराकानी भइरहेको थियो। सोही क्रममा उनले विष पिएको पारिवारिक स्रोतको दावी छ।

उनले पार्लर बेचेर ऋण तिर्न उमेशसँग सल्लाह गरेकी थिईन। त्यस वेला उनीसँगै फ्ल्याटमा रहेका भाई वहिनी अर्को कोठामा थिए। विष सेवन गरेको उनीहरुले थाहा पाएनन्। तर, विषको असरले छट्पटाउन थालेपछि उनीहरुले थाहा पाएर तुरुन्तै विनायक अस्पताल लगेका थिए।

त्यहाँबाट बिहान करिव पौने ५ बजेतिर मात्रै नर्भिक पु-याइएको थियो। नर्भिक लैजाँदा पनि उनी बोल्न सक्ने अवस्थामै थिइन्। भेट्न आएका केही साथीले उनलाई ‘यस्तो किन गरेको?’ भनेर सोधेका थिए। उनले ऋणतर्फ नै संकेत गर्दै आफुले हार खाएको जनाएकी थिईन।

ऋणदाताको ‘सामाजिक सञ्जालमा लेखिदिने’ धम्कीपछि उनले हरेस खाएको अनुमान छ। तर, आत्महत्याको कारण यही नै हो भनेर निष्कर्षमा पुग्न सकिने अवस्था छैन। प्रहरीले पोस्टमार्टमबाहेक घट्नाको अनुशन्धान गरेको छैन। उनको मृत्युको बारेमा उजुरी पनि परेको छैन।

उनको शनिवार अन्तिम संस्कार गरिएको छ। पारिवारिक स्रोतका अनुसार १३ दिनको अन्तिम क्रियाकर्म सकेपश्चात दीपाशाकी आमाले उनलाई टर्चर दिने व्यक्ति विरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिने तयारी गरेकी छिन्।

सुर्खेतमा जन्मिएकी दीपाशा ०६८ सालमा गोपीकृष्ण टीभी फिल्मीको ‘को बन्छ कलाकार’ नामको रियालिटी शोमा सुर्खेतबाटै अडिसन दिएर अर्को चरणका लागि काठमाडौं आएकी थिईन। उनी त्यसमा छानिन सकिनन्। तर, कलाकारीता गर्ने रहरले उनी काठमाडौंमा वस्न थालिन।

दीपाशाकी आमा र एक बहिनी वैदेशिक रोजगारीका लागि दुवईमा थिए। उनको निधनपछि आमा नेपाल फर्केकी छन्। दीपाशा सानै हुँदा आमाले अर्को बिहे गरेकी थिइन्। बुवाले पनि अर्कै विवाह गरेको स्रोतले वताएको छ। उनी अहिले भारतमा छन्।

स्रोतका अनुसार दीपाशाको पनि सानैमा विवाह भएको थियो। तर, उनको वैवाहिक सम्बन्ध धेरै लामो चलेन। विवाहको केही समयमै उनको सम्वन्ध विच्छेद भएको थियो। पछिल्लो समय उनी कलाकारिता वाहिरका ब्यक्तिसँग प्रेम सम्वन्धमा थिईन। ४–५ महिनाअघि मात्रै प्रेम पनि टुटेको जनाईएको छ। प्रेममा धोका पाएका कारण पनि उनी विछिप्त थिईन। आत्महत्यामा यो पनि कारण हुनसक्ने आशंका छ।

सम्बन्धित खबर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट