दुर्गा प्रसाईंद्वारा राष्ट्रिय गानको अपमान, प्रहरीमा जाहेरी

जनकपुर– राष्ट्रिय गानको अपमान गरेको आरोपमा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ।

गणतन्त्रविरोधी अभियन्ताका रुपमा स्थापित हुँदै गएका प्रसाईँ विरुद्ध युवा संघ नेपाल धनुषाका अध्यक्ष रोषणकुमार यादवले जाहेरी दिएका हुन्।

प्रसाईँले जनकपुरमा आयोजित एक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको आरोप छ। त्यसो गरेर अपराध गरेको उजुरीमा उल्लेख छ। २८ कात्तिकमा ‘हिन्दू सम्राट सेना धनुषा’ले जनकपुरमा प्रसाईंलाई प्रमुख अतिथि बनाएर एउटा कार्यक्रम गरेको थियो।

उक्त कार्यक्रममा प्रसाईंको निर्देशनअनुसार पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली…’ बजाइएको थियो। कुनै पनि व्यक्तिलाई संविधान तथा कानुन प्रतिकूल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिबाना गर्न माग गरिएको छ।

‘मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसुर गरेको हुनाले निज विपक्षीलाई खोजतलाश गरी ऐ.ऐ. को दफा (२) को (१) बमोजिम हदैसम्म कैद तथा जरिबाना गरी पाउँ।’– उजुरीमा भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट