रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा हाल्ने रञ्जिता श्रेष्ठले तयारी, भन्छिन्– कानुनी जिम्मेवारी लिने समय आयो
काठमाडौँ— नेकपाकी नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी गरेकी छिन्। सामाजिक सञ्जालमा कानुनअनुसार जिम्मेवारी लिनुपर्ने समय आएको भन्दै संकेतसहितको स्टाटस लेखेकी छिन्।
स्टाटसपछि त्यसलाई धेरैले डिभोर्सको तयारीका रूपमा बुझेका थिए। तर, रञ्जिताले आफूले बहुविवाहको मुद्दा अघि बढाउन लागेको स्पष्ट पारेकी हुन्। रञ्जिताले सोमबार सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘म कसैलाई जेल पर्नुपरोस् भनेर श्राप दिन्न, कसैको जीवन बिग्रियोस् भनेर चाहन्नँ। तर कानुनले जे ठहर गर्छ, त्यसको जिम्मेवारी लिनुपर्ने समय आएमा त्यसबाट पछि हट्ने ठाउँ पनि हुँदैन।’
उक्त स्टाटसको आशयबारे बुझ्दा रञ्जिताले आफू लामो समयदेखि मौन रहे पनि पछिल्ला घटनाक्रमले थप पीडा दिएको बताउँदै रेशमविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा रहेको जानकारी दिइन्।
‘म धेरै समयदेखि मौन बसेकी थिएँ। तर मलाई नै झन् धेरै पीडा दिने काम भएको छ। म उहाँ (रेशम चौधरी) विरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा छु,’ रञ्जिताले भनेकी छिन्। रञ्जिता रेशमकी पहिलो पत्नी हुन्।
उनीहरूका एक छोरा छन्। रञ्जिताको दाबीअनुसार आफू र रेशमबीच वैवाहिक सम्बन्ध कायम रहेकै अवस्थामा रेशम आशा चौधरीसँग नजिकिएका थिए र पछि दोस्रो विवाह गरेको विषयलाई लिएर उनले कानुनी प्रक्रिया अघि बढाउन लागेकी हुन्। आशातर्फ भने एक छोरी छिन।
पछिल्लो समय रेशम र रञ्जिताबीच राजनीतिक मतभेदसँगै व्यक्तिगत सम्बन्धमा पनि दूरी बढेको छ। उनीहरू लामो समयदेखि अलग बस्दै आएका छन्। रञ्जिता काठमाडौंमा छोरासँग बस्दै आएकी छिन् भने रेशम बर्दियामा आशा र छोरीसँग बस्दै आएको बताइएको छ।
रेशमसँगको सम्बन्धबारे आशाले सामाजिक सञ्जालमा नियमित रूपमा भिडियो सार्वजनिक गर्दै आएकी छिन्। त्यस्ता भिडियोमा उनीहरूबीचको सम्बन्ध सुमधुर रहेको देखाउने सामग्रीसमेत सार्वजनिक भएका छन्। पछिल्लो समय आशाले सार्वजनिक गरेको एउटा भिडियोमा ‘मान्छेहरु भ्रममा छन्, म उहाँको एक्लो बुढी हो’ भन्दै लेखेकी थिइन्।
रञ्जिताले बहुविवाहको मुद्दा दर्ता गर्ने तयारी गर्नुको मुख्य कारण रेशम र आशाले विवाह दर्ताका लागि प्रयास गरिरहेको सूचना पाउनु हो। उपलब्ध विवरणअनुसार रेशम र आशाको विवाह भने हालसम्म दर्ता भएको छैन।
रञ्जितासँग कानुनी रूपमा सम्बन्धविच्छेद नगरी अर्को विवाह गरी त्यसलाई दर्ता गर्ने प्रयास भएमा त्यसको कानुनी परिणाम आउने उनको बुझाइ छ। विवाह दर्ता नभएको अवस्थामा पनि बहुविवाहसम्बन्धी कसुर स्थापित हुन सक्ने वा नसक्ने विषय भने प्रमाण र कानुनी प्रक्रियामा निर्भर हुनेछ।
आशा मोडल तथा थारु चलचित्रकी अभिनेत्री हुन्। रेशमले थारु चलचित्र निर्माण तथा निर्देशन गर्ने क्रममा आशासँग नजिकिएको बताइन्छ। आशासँग रेशमको भेट हुँदा उनी रञ्जितासँग वैवाहिक सम्बन्धमा नै थिए।
पछिल्लो समय रेशम र आशाले विवाह दर्ताको प्रयास गरिरहेको सूचना पाएपछि आफू कानुनी प्रक्रियामा जाने निष्कर्षमा पुगेको रञ्जिताको भनाइ छ। अब उनले दर्ता गर्ने भनिएको मुद्दामा प्रस्तुत हुने प्रमाण, दाबी र सम्बन्धित निकायको अनुसन्धान तथा अदालतको प्रक्रियाबाट मात्रै आरोपको कानुनी निरूपण हुनेछ।

