ज्युँदो पतिको मृत्यु दर्ता गरी एकल महिलाको भत्ता लिने महिलाको पोल खुलेपछि…

काठमाडौं– जीवित श्रीमानको मृत्यु दर्ता गरी एकल महिलाको भत्ता लिएको आरोपमा दुई जना विरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।
रामेछाप मन्थली नगरपालिका–३ की निर्मला खत्री र तत्कालीन वडा सचिव शिवकुमार महतो विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
खत्रीले आफ्ना श्रीमानको मृत्यु भएको भन्दै मृत्यु दर्ता गरी एकल महिला भत्ता लिएको आरोप छ। वडा सचिवले उक्त भत्ता लिनको लागि एकल महिला परिचय पत्र बनाउन लिखत बनाइदिएका थिए। मृत्यु दर्ता अभिलेख बनाएर भत्ताको परिचय पत्र बनाइदिएको आरोप उनीमाथि छ।
सरकारी कार्यालयको छाप र दस्तखत दुरुपयोग गरी भत्ता लिइरहेको भन्ने सूचना पाएपछि अख्तियारले अनुसन्धान गरी दुई जनाविरूद्ध मुद्दा दायर गरेको हो। एकल महिला भत्ताबाट खत्रीले ४५ हजार दुई २० रुपैयाँ लिएको पाइएको छ।
अख्तियारले उक्त रकम असुल गरी सजायको मागदाबी गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए।