पत्रकार ढकालको मृत्यु प्रकरणः बसका साहु र चालकसहित चारजना पक्राउ

काठमाडौं– मंसिर ४ गते धादिङको कृष्णभिरमा मृत अवस्थामा फेला परेका पत्रकार प्रकाश ढकालको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा खैरेनीटारबाट ढकाल चढेको बसका साहु, चालक र दुई जना सह चालक छन्। उनीहरुलाई अनुशन्धानका लागि नियन्त्रणमा लिईएको धादिङ प्रहरीले जनाएको छ।

तिहारको बिदा मनाउन स्याङ्जाको चापाकोटस्थित घर गएर फर्किने क्रममा सम्पर्कविहीन भएका ढकालको शव चार दिनपछि कृष्णभीरको मुनि खोल्सोमा भेटिएको थियो।

अनुशन्धानका क्रममा ढकाल चढेको बसले उनलाई बीच बाटोमै जबरजस्ति ओरालिदिएको पाइएको छ। उनी घटनास्थलभन्दा डेढ किलोमिटर अगाडिबाट पैदल हिँडिरहेको सीसीटीभी फुटेजसमेत फेला परेको छ।

गाडीबाट बाटैमा झारिएपछि ढकालले प्रहरीलाई फोन गरेर आफूलाई जबर्जस्ती बाटोमा झारिएको र आफ्नो झोला गाडीमै छुटेको जानकारी दिएका थिए। त्यसदिन गाडीका साहु पनि गाडीमै रहेकाले उनी पनि पक्राउ परेका हुन।

ढकालका परिवारले उनीहरूमाथि हत्याको आरोप लगाएका छन् भने प्रहरीले भने उनको हत्या नभई अप्ठ्यारो बाटोमा दुर्घटनावस भीरबाट खसेर मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपी, ढकाललाई अमानवीयरूपमा असुरक्षित ठाउँमा उतारिएकाले चार जनालाई पक्राउ गरिएको धादिङका एसपी गौतम मिश्रले बताए।

ढकाल विगत सात वर्षदेखि लालीगुराँस डट कममा संवाददाताका रूपमा कार्यरत थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट