यू–१९ एसिया कपमा नेपालको तेस्रो हार, भारत १० विकेटले विजयी

काठमाडौं– दुबईको आईसीसीए २ मैदानमा आज भएको यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ। नेपालले दिएको ५३ रनको सामान्य लक्ष्य भारतले बिना क्षति ७.१ ओभरमा भेट्टाएको छ।
भारतका लागि ओपनर ब्याटर अर्हिन कुलकर्नीले ४३ र आदर्श सिंहले १३ रन बनाए। नेपालबाट ३ जना बलर प्रयोग भएको थियो, तर विकेट भने निकाल्न सकेनन्।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट भएको थियो। यू–१९ क्रिकेटमा नेपालको यो अहिलेसम्म्कै न्यून स्कोर हो। यसअघि नेपाल सन् २००८ मा वेष्टइण्डिज विरुद्ध ७४ रनमा अलआउट भएको थियो।
दशौं नम्बरमा ब्याटिङ गरेका हेमन्त धामीले नेपालबाट सर्वाधिक ८ रन बनाए। अर्जुन कुमाल र दीपक बोहरा ‘बी’ ले समान ७ रन बनाए। दीपक र दीपेश कँडेलले सातौं विकेटमा जोडेको १२ रन नेपाली इनिङ्सको सबैभन्दा ठूलो साझेदारी रह्यो। दीपेशले ४ रन बनाए।
दीपक बोहरा ‘ए’ १, उत्तम थापामगर शून्य, कप्तान देव खनाल २, दीपक डुम्रे शून्य, सुवास भण्डारी २ रनमा आउट भए। आकाश चन्द ४ रनमा अविजित रहे। भारतका तीब्र बलर राज लिम्बानीले एक्लै ७ विकेट लिँदै नेपाली ब्याटिङक्रमलाई तहसनहस पारे।
उनले ९.१ ओभरमा ३ मेडन राख्दै १३ रन खर्चेर उत्कृष्ट प्रर्दशन गरे। आराध्य शुक्लाले २ र अर्शिन कुलकर्नीले १ विकेट लिए।
प्रतियोगितामा नेपालको पहिलो दुई खेल हारिसकेको छ। यो तेस्रो हार हो। पाकिस्तानले शुक्रबार नेपाललाई पहिलो खेलमा सजिलै ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग आइतबार नेपाल ७३ रनले पराजित भएको थियो।