रवि लामिछानेका पार्टनर ठगी आरोपमा फरार भएपछि ‘ग्यालेक्सी टीभी’ बन्द

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले खोलेको ‘ग्यालेक्सी टेलिभिजन’ बन्द भएको छ। लामिछाने राजनीतिमा र अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) सहकारी ठगी प्रकरणमा फरार भएपछि टेलिभिजन बन्द भएको हो।

करिव एक सातादेखि टिभीमा कुनै पनि सामग्री प्रसारण भएको छैन भने फेसबुक पेज र युट्युबसमेत अपडेट भएको छैन। स्याटलाइट लाइन भने नकाटिएकाले टेलिभिजन प्रशासनले गीत मात्रै बजाइरहेको छ। ग्यालेक्सी टीभीमा कर्मचारी र पत्रकारसहित झन्डै ८० जना कार्यरत छन्।

अधिकांशले पत्रकार र कर्मचारीले ६ महिनायताको तलब नपाएकाले उनीहरु श्रम अदालत जाने तयारीमा छन्। तलवको माग गर्दै उनीहरुले आन्दोलन गरेपछि नै टेलिभिजन बन्द भएको हो। ग्यालेक्सी टिभी रवि लामिछानेको फेस देखाएर खोलिएको थियो। लगानी भने अरुले नै गरेका थिए।

रवि लामिछाने एक वर्षभन्दा बढी टिभीमा टिकेनन्। पार्टी खोलेर उनी निस्किए। अध्यक्ष राई पनि सहकारी ठगी प्रकरणमा फरार छन्। देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्बभन्दा बढी ठगीको आरोप उनीमाथि छ।

जीबीविरुद्ध पर्सा अदालतले पक्राउ पुर्जी जारी गरेको छ। अर्का व्यावसायिक साझेदार कुमार रम्तेल भने पक्राउ परेका छन्। दुवैविरुद्ध वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको उजुरी छ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताको रकम ठगी गरेको आरोपमा जिल्ला अदालत कास्कीले पनि अध्यक्ष राई र रम्तेलसहित १३ जनालाई पक्राउ पुर्जी जारी गरेको छ।

यसअघि सहकारीकै लगानीमा सञ्चालित अर्थन्यूज टेलिभिजन बन्द भएको थियो। सहकारीमार्फत १४ अर्ब ठगीको आरोप लागेका सञ्चालक केदारनाथ ‘केएन’ शर्मा पक्राउपछि टीभी बन्द भएको थियो। केही साताअघि मात्रै नेपाल नेटवर्क टीभी पनि बन्द भएको थियो। तर, दुवै टेलिभिजनले अहिले गीत मात्रै प्रसारण गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट