धरानलाई स्वतन्त्र राज्य बनाउँने हर्क साम्पाङको धम्की, कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाईयो

धरान– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘स्वतन्त्र राज्य’ बनाउने धम्की दिएका छन्। उनले सामाजिक सञ्जाल फेसवुकमा स्ट्याटस लेख्दै यस्तो धम्की दिएका हुन।

धरानलाई संघ सरकारले वास्ता नगरेको र विकास नदिएको गुनासो गरेका साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाइ ‘यलम्बर’ को फोटो झुन्ड्याएका छन्।

उनले सञ्जालमा स्टाटस लेख्दै यसबारे पूर्वघोषणा गरेका थिए। त्यसैबमोजिम उनले आज राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउदै किराँती राजा यलम्बरको फोटो झुन्ड्याएका हुन्।

‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ! जय देश ।’– मेयर साम्पङले लेखेका थिए।

त्यसको केही दिनअघि साम्पाङले विवादित स्टाटस लेख्दै धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिएका थिए।

‘धरानलाई कि त विकास देऊ नत्र स्वयत्तता देऊ ! स्वायत्तता दिए तिमेरुको केही चाहिँदैन हाम्लाई ! स्वतन्त्र राज्य बनाउन नपरोस् ! बिचार चोङ्गे !’– उनले लेखेका थिए।

मेयर साम्पाङले राज्यका निकायहरूलाई ठाडो चुनौती दिनेमात्र होइन, आफूमाथि प्रश्न उठाउनेहरूलाई धाकधम्की दिने गरेका छन् । तर, अहिलेसम्म उनका आपत्तिजनक अभिव्यक्तिहरूलाई लिएर राज्यको कुनै पनि निकायले उनलाई सामान्य स्पष्टीकरणसम्म सोधेको छैन।

उनले अर्को एउटा स्ट्याटस लेख्दै ‘जनजाति होइन, मुलवासी भन । नत्र भेट्लास् ।’ भनेका थिए भने तीन दिनअघि ‘विकासको केन्द्रबिन्दुमा धरानलाई पारिन्न भने सरकारलाई मानिरहनुपर्छ भन्ने केही छैन’ भन्दै लेखेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट