हुस्सुले तराईका विमानस्थलमा हवाई उडान रद्द, सडक यातायात पनि प्रभावित

राजविराज– तराईका जिल्लामा शनिवारदेखि बाक्लो हुस्सु लाग्न थालेको छ। प्रतिकूल मौसमका कारण भैरहवासहित तराईका चार विमानस्थलको उडान प्रभावित भएको छ।
‘भिजिबिलिटी’ कमजोर हुँदा त्यस क्षेत्रको हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
बाक्लो हुस्सु, कुहिरोका कारण तराईका सिमरा, जनकपुर, भरतपुर र भैरहवा विमानस्थलका उडान रद्द भएका हुन्। यी विमानस्थलमा आज कुनै पनि उडान भएनन्।
यता, भैरहवा विमानस्थलमा भने हिजोदेखि नै कुनै पनि उडानहरू नभएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
शुक्रबार नै प्रतिकूल मौसमका कारण धेरैजसो विमान कम्पनीले निर्धारित उडान रद्द गरेका थिए। विशेष गरी हिउँदमा तराईका विमानस्थलमा बाक्लो हुस्सु लाग्नाले आन्तरिक उडान प्रभावित हुने गरेको छ।
हुस्सुका कारण राजमार्गमा सवारी आवागमनमा समेत समस्या भएको छ। चिसो वढेसँगै वालवालिकाका र वृद्धवृद्धा प्रभावित हुन थालेका छन्। तराईका स्वास्थ्य संस्थामा चिसोबाट प्रभावित विरामीको संख्या थपिन थालेको जनाईएको छ।