बरहथवामा होटल सञ्चालकमाथि गोली चलाउने वरिष्ठ हवल्दार जिल्ला तानिए, शव सडकमै

सर्लाही– सर्लाहीको बरहथवामा गोली चलाएको आरोप लागेका प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएका छन्।

आन्दोलनकारीले सोनलालले नै गोली चलाएको आरोप लगाएपछि इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत उनलाई जिल्ला तानिएको हो। गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवक (होटल सञ्चालक) जयशंकर साहको मृत्यु भएको थियो।

आन्दोलनकारीले हतियार थुन्ने बेला वरिष्ठ हवल्दार यादवको बन्दुक पड्केर गोली चलेको हुन सक्ने प्रहरीको दाबी छ। मृतक परिवार र आन्दोलनरत पक्षले भने वरिष्ठ हवल्दार यादवले रिसीबी साध्न निर्दोष जयशंकरलाई जानेर गोली दागेको दाबी गरेको छ।

मृतको शब भने अझै उठ्न सकेको छैन। शव तीन दिनदेखि घटनास्थलमै छ। मृतकको परिवार र प्रदर्शनकारीहरूसँग निरन्तर छलफल भइरहेको भएपनि सहमति जुट्न नसकेका कारण शव उठाउन नसकिएको हो।

अहिले शवलाई परालले छोपेर सडकमै राखिएको छ। मृतकका आफन्त, प्रदर्शनकारी र सुरक्षाकर्मीले घटनास्थलमै शव कुरेर बसेका छन्।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

सरकारले मृतकको परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ दिने निर्णय गरे पनि यहाँ अवस्था सामान्य बन्न सकेको छैन । बरहथवा बजारमा व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ । बजार क्षेत्र, नगरपालिका कार्यालय र नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा प्रहरीले सुरक्षा पहरा दिएर बसेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट