नागरिक्ता त्यागेर विदेश पलायन हुने संख्या उच्च, ४ वर्षमा डेढ लाखले छोडे नेपाल

काठमाडौँ– चार वर्षमा १ लाख ४७ हजार नेपाली नागरिक्ता नै त्यागेर बसोवासका लागि विदेश पलायन भएका छन्। सन् २०२० मा ५ हजार १४४, सन २०२१ मा १ हजार ५४१, सन् २०२२ मा ६९ हजार ३५१ र सन् २०२३ मा ७० हजार ९१५ नेपालीले स्थायी रुपमा देश छाडेका छन्।

अध्यागमन विभागका अनुसार ४ वर्षमा १ लाख ४६ हजार ९५१ जना नेपाली स्थायी बसोबास गर्न विभिन्न मुलुक गएका छन्। स्थायी बसोबासका लागि अमेरिका, बेलायत, जापान, क्यानडा, अष्ट्रेलिया र युरोपलगायतका धेरै मुलुकमा नेपालीहरू जाने गरेका छन्।

वर्षेनी स्थायी रुपमा देश छोड्नेको संख्या बढ्दै गएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनको एक अध्ययन प्रतिवेदन अनुसार राजनीतिक अस्थिरता, राम्रो जीवनशैली तथा बस्ने वातावरण, काम गर्ने वातावरण, सहज रुपमा काम पाउने, राम्रो तलब, स्थायी बसोबासको कार्ड पाउन सहज, परिवार–आफन्त विदेशमा, विदेशमा रहेका साथी र चिनजानका कारण नेपालीहरु विदेश जाने गरेका छन्।

युवाहरूमा अमेरिका, अष्ट्रेलिया र क्यानडा गएमा जीवन राम्रो हुन्छ र नेपाल बस्दा निश्चितता नभएको बुझाई वढेको छ। राजनीतिले युवाको आकांक्षा पुरा गर्न नसक्दा देश छोड्नेको लर्को लागेको जानकारहरु वताउँछन्।

सामाजिक रुपमा उच्च, दक्ष र सिर्जनशील मानिसहरूलाई नेपालमा राख्न नसकिएको उनीहरुको वुझाई छ। दक्ष जनशक्तिले देश छोड्दा नेपालमा भएका स्रोत–साधनहरू प्रयोगमा नआउने खतरा वढेको छ।
राज्यले आम नागरिकलाई नेपालमा बसेर समृद्ध जीवन बिताउन सकिने कुरामा विश्वास दिलाउन नसक्दा देश छोड्नेको संख्या बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्की बताउँछन्।

कानुनको नजरमा ठूला मानिसहरू जोगिने र साना मानिसहरू बन्धनमा पर्ने अवस्थाले नैराश्यता छाएको मान्न सकिने उनले बताए। ‘सरकारी कामकाज एकदमै सुस्त छ। चिनजान नभएमा सरकारी कार्यालयमा काम हुन गाह्रो छ,’ उनी भन्छन्,–‘स्वास्थ्य र शिक्षा राम्रो छैन। आधारभूत कुराहरू मात्र राम्रो भएमा आशा जगाउन सकिन्थ्यो।’

नेकपा एमालेका नेता अरुण नेपाल नेपालीले आफ्नो भविष्यप्रति विश्वास गर्न छाडेकाले देश छाड्नेको संख्या बढेको बताउँछन्। स्वदेशमा लगानी गर्न सक्ने र क्षमता भएका मानिसहरूले समेत देश छोडेर गएको नेपालले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट