जेनजी आन्दोलनमा प्रहरीबाट लुटेको पेस्तोलबाट गोली चलाउँदै घरको छतमा बसेर भिडियो खिचेपछि…

काठमाडौँ— जेनजी आन्दोलनका क्रममा प्रहरीले प्रयोग गर्दै आएको पेस्तोल लुटेर त्यसैबाट गोली चलाउने युवाहरू अन्ततः पक्राउ परेका छन्। राजधानीमै बसेर उनीहरूले लुटिएको पेस्तोलबाट धमाधम गोली पड्काउँदै भिडियो बनाएको खुलासा भएपछि प्रहरी चकित बनेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोटको लिखु गाउँपालिका–६ घर भएका २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका–१० का २३ वर्षीय एलेक्स नेपालीलाई पक्राउ गरेको हो। उनीहरू लामो समयदेखि काठमाडौंमा बस्दै आएका थिए।

प्रहरीका अनुसार समीरले आफु बसिरहेको घरको छतमा बसेर हातमा पेस्तोल समात्दै चुरोट तान्दै गोली पड्काएको भिडियो खिचेका थिए। उक्त भिडियो सामाजिक सञ्जाल हुँदै प्रहरीसम्म पुगेपछि अनुसन्धान सुरु गरिएको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार, पक्राउ परेकाले जेनजी आन्दोलनका बेला प्रहरीले प्रयोग गरेको ५४ क्यालिबरको पेस्तोल लुटेर त्यसैलाई मनोरञ्जनको वस्तुजस्तो प्रयोग गरेको स्वीकार गरेका छन्। ‘समीरले नागर्जुन नगरपालिकास्थित घरको छतमा बसेर पेस्तोल पड्काएको भिडियोसमेत फेला परेको छ,’ उनले भने, ‘दुवैजनाले सोधपुछका क्रममा पेस्तोल पड्काएको स्वीकार गरेका छन्।’

पक्राउ परेकामध्ये समीर श्रेष्ठ पटके अपराधी हुन। उनलाई यसअघि पनि अभद्र व्यवहारको मुद्दामा सोहैखुट्टे प्रहरीले पक्राउ गरेको थियो। गत भदौ ६ गते पक्राउ परेका उनलाई अदालतले धरौटीमा छोडेको थियो।

प्रहरीले उनीहरूबाट लुटिएको पेस्तोल, एक थान म्याग्जिन र १२ राउन्ड गोली बरामद गरेको छ। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार उनीहरूले इचंगुनारायण मन्दिर क्षेत्रमा हतियार देखाएर सर्वसाधारणमा त्रास सिर्जना गरेको र पछि घरमा बसेर जथाभावी गोली पड्काएको प्रमाण फेला परेको छ।

प्रहरीले समीर र एलेक्सविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाउने तयारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट