‘विवाह नगरे मार्दिन्छु’ भन्दै विद्यालय निरीक्षकले धम्की दिएपछि शिक्षकाले गरिन आत्महत्या

काठमाडौँ– विद्यालय निरीक्षक गणेशबहादुर रावलले लगातार विवाह गर्न दबाब र धम्की दिएपछि बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानोदय माध्यमिक विद्यालयमा गणित शिक्षकका रूपमा कार्यरत जानकी खड्काले आत्महत्या गरेकी छन्।

डोटीको पूर्वीचौकी गाउँपालिका–१ की स्थायी बासिन्दा रहेकी खड्कालाई विवाहको प्रस्ताव राख्ने रावल डोटीकै शिखर नगरपालिका–११ का स्थायी निवासी हुन्। उनी जिल्ला शिक्षा समन्वय एकाइ सिलगढीमा कार्यरत छन्।

विवाह प्रस्ताव अस्वीकार गरेपछि रावलले खड्काका भाइ प्रदीप खड्कालाई फोन गरेर ‘तिम्रो दिदीले मसँग विवाह नगरे मारिदिन्छु।’ भन्दै धम्की दिएका थिए। रावलको निरन्तरको दबाब र धम्कीपछि खड्काले गत १० कात्तिकमा घरभन्दा करिब ७ सय मिटर तल खोला किनारमा रहेको उत्तिसको बोटमा झुण्डिएर आत्महत्या गरेकी हुन्।

घटनापछि उनका बुबा चक्रबहादुर खड्काले प्रहरी कार्यालय डोटीमा आत्महत्या दुरुत्साहनको मुद्दामा जाहेरी दिएका थिए। जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी दिपेन्द्र पालका अनुसार, जाहेरी परेकै दिन (११ कात्तिक) मा रावललाई पक्राउ गरिएको छ।

प्रतिवादी रावल डिभोर्सी हुन्। उनका दुई सन्तान छन् र आमासँग बसिरहेका छन्। घटनाले विद्यालय र स्थानीय समुदायमा ठूलो सनसनी मच्चाएको छ। प्रहरीले अनुसन्धान जारी राखेको र घटनामा थप कानूनी कारबाही अघि बढाउने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट