श्रीमती र छोरो पाल्न रुसी सेनामा भर्ना भएका माओवादी कार्यकर्ताको युक्रेनसँगको युद्धमा मृत्यु
राजविराज– रुसी सेनामा भर्ती भएका लमजुङका एक माओवादी कार्यकर्ताको मृत्यु भएको छ। लमजुङको दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो।
रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर पाँच दिन अघिमात्र परिवारलाई प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए। उनका अनुसार गुरुङसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई खबर पठाएका हुन।
जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको छ। दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्ष रहेका गुरुङ साढे तीन महिना अघि रुसी सेनामा भर्ना भएका थिए।
उनको घरमा बुबा श्रीमान, आमा चेङ्दु, श्रीमती र १ छोरा छन्।
पूर्वी लमजुङको गोर्खासँग सीमा जोडिएको दुधपोखरी गाउँपालिका जनयुद्धकालदेखि नै माओवादी प्रभावित क्षेत्रका रुपमा चिनिन्थ्यो। यो क्षेत्रलाई माओवादीले आधार क्षेत्रका रुपमा प्रयोग गरेको थियो।
साजनका बुबा श्रीमान गुरुङ युद्धकालमा नै माओवादी पार्टीमा आवद्ध भएका थिए। उनी हाल माओवादी केन्द्रका लमजुङ जिल्ला सदस्य छन्। साजनसमेत गरी रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको सख्या १२ पुगेको छ।
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

