अस्पताल भवन र पूर्वाधार नै नभएको पालिकामा १ करोडको स्वास्थ्य उपकरण, त्यो पनि आगो लाग्यो

राजविराज — सप्तरीको बिष्णुपुर गाउँपालिकाले ४ वर्षअघि १ करोडभन्दा वढि खर्च गरेर खरिद गरेको अस्पतालका उपकरण राखिएको गोदाममा आगलागी भएको छ। गोदाममा योजनावद्ध रुपमा आगो लगाईएको आशंका छ।

बिष्णुपुर ४, नहरचोक स्थित निजी घरमा २ वटा कोठा भाडामा लिएर गोदाम बनाईएको थियो। स्थानीयका अनुसार गोदाममा विहिबार राती करिव १/२ वजे आगलागी भएको हो। आगलागीमा घरमालिकको करिव २५/३० लाखको क्षती भएको अनुमान छ। तर, स्वास्थ्य उपकरणमा भएको क्षतीको विरण आईसकेको छैन।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल आनन्दले उपकरण परिक्षणका लागि कर्मचारी खटाएको र २ दिनभित्र क्षतीको एकिन विवरण आउने वताए। उनका अनुसार आगलागी कसरी भयो भन्ने कारण खुल्न सकेको छैन। आफै आगलागी भएको वा ब्यक्तिगत रिसईवीमा कसैले लगाएको हो भन्ने विषयमा प्रहरीले अनुशन्धान गरिरहेको आनन्दले बताए।

गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ मै अस्पतालका लागि उपकरणहरु खरिद गरेको थियो। अस्पतालको अन्य पूर्वाधार नै तयार नभई खरिद गरिएको उक्त उपकरणमा षडयन्त्रपूर्वक आगो लगाईएको स्थानीय तथा केही पूर्वजनप्रतिनिधिको आशंका छ।

मिलेमतोमा कमिशनका लागि अस्पताल बन्नु पूर्व नै एक करोड भन्दा वढिको अपुरो र कमसल सामग्री खरिद गरिएकाले फस्ने डरले योजनावद्ध रुपमा आगो लगाईएको गाउँपालिकाका एक जना पूर्व जनप्रतिनिधिले दावी गरेका छन्। उनी भन्छन्–‘गोदाममा ताला लागेकै छ, विद्युत सर्ट भएको अवस्था पनि छैन। सवै फस्ने अवस्था आएपछि योजनावद्ध रुपमा आगो लगाईएको हो।’

प्रमुख प्रशासकीय अधिकृत आनन्दका अनुसार अस्पताल निर्माणका लागि वडा नं. ४ मा स्थानीय जयनारायण देवले दानमा दिएको करिव १० कठ्ठा जग्गा छ। त्यस वाहेक अन्य कुनै पनि तयारी छैन।

यस्तो अवस्थामा ब्यक्तिगत स्वार्थका लागि उपकरण खरिद गरेर थन्क्याएको भन्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा उजुरी दिने तयारी भएपछि मिलेमतोमै आगो लगाईएको स्थानीय तथा पूर्वजनप्रतिनिधिहरु बताउँछन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीले भने आगो निभाएपछि आफ्नै तरीकाले आगलागीको अनुशन्धान गरिरहेको छ। गाउँपालिका वा धरधनीले आगलागी भएको विषयमा वा अनुशन्धान गरिदिन निवेदन वा उजुरी नदिएको सप्तरी प्रहरीका एसपी गजुसिद्दी ब्रजाचार्यले वताए। ‘हामीले आफनै तरिकाले अनुशन्धान गरिरहेका छौं, कसैबाट उजुरी वा निवेदन आएको छैन’ एसपी बज्राचार्यले भने–‘हिजो पनि त्यहाँका केही मानिसलाई बोलाएर सोधपुछ गर्यौ, तर यकिन यही नै भएको हो भन्ने पुष्टि भएको छैन।’

अस्पतालको लागि उपकरण खरिद गर्दा गाउँपालिकामा लिलाम्बर यादव अध्यक्ष र ललनप्रसाद यादव प्रमुख प्रशासकीय अधिकृत थिए। ०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट दोस्रो पटक उम्मेदवार बनेका लिलाम्वर जनता समाजवादी पार्टीका उम्मेदवार उमेशप्रसाद यादवसँग पराजित भए। ललन अहिले सप्तरीकै छिन्नमस्ता गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट