१६ करोडमा ठेक्का लागेको अस्पताल भवन अलपत्रः ३ करोड पेश्की लिएर ठेकेदार बेपत्ता

राजविराज– उदयपुरको रौतामाई गाउँपालिका–२ डाङ्सिनटारस्थित अस्पताल भवनको निर्माणको काम अलपत्र परेको छ। अस्पताल निर्माणको जिम्मेवारीसहित पेस्की रकम लिएका ठेकेदार सम्पर्क विहीन भएपछि अस्पताल निर्माण वर्षौँदेखि अलपत्र परेको हो।

दुर्गम क्षेत्रका करिब १५ हजार मानिसहरूलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले १८ महिना पहिले १५ शैय्याको अस्पताल निर्माण सुरु भएको थियो। तर, ठेकेदार विचैमा काम छोडेर हिडेपछि फाउन्डेसन निर्माण समेत पुरा भएको छैन।

काठमाडौँको आर एन्ड सिएसबेकन ज्वाइन्टभेन्चर निर्माण कम्पनीले १५ भदौ ०८१ सम्म सम्पूर्ण काम सम्पन्न गर्ने गरी २४ असार ०७९ मा भवन निर्माणका लागि सम्झौता गरेको थियो। जसका लागि मोविलाइजेसन बापतको ३ करोड रुपियाँ समेत कम्पनीले भुक्तानी लिएको छ।

रौतामाई गाउँपालिकाका सब–इन्जिनियर दीपेन्द्र श्रीवास्तवका अनुसार पैसा लिएर हिडेका ठेकेदार ६ महिनादेखि फर्केर आएका छैनन्। नेपाल सरकारको संघीय सरकारबाट बजेट विनियोजन भई आएको र रौतामाई गाउँपालिकाको केन्द्र रहेकै स्थानमा सो अस्पताल निर्माण गर्न सुरु गरिएकोमा थप रकम समेत निकासा नआएको सब इन्जिनियर श्रीवास्तवले बताए।

अस्पतालका लागि आवश्यक पर्ने उपचार कक्षहरू सहितको सुविधा सम्पन्न आधुनिक डिजाइनमा ३ तलाको सो अस्पताल भवन बनाउन रौतामाई गाउँपालिकाले १६ करोड १३ लाख रुपियाँको लागतमा सम्पूर्ण काम सम्पन्न गर्ने गरी उक्त निर्माण कम्पनीसँग सम्झौता गरेको थियो। अव ७ महिना मात्र समय बाँकी रहँदा पनि ५ प्रतिशत पनि काम नभएको गाउँपालिकाका पदाधिकारीहरु वताउँछन्।

स्वास्थ्य सेवा सहज र सरल रूपमा स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले सुरु भएको काम निर्धारित समय सीमा भित्र सम्पन्न हुनेमा अव आशंका उत्पन्न भएको उनीहरुले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट