आगोले घेरेपछि बिशालले झ्यालबाट गुहार मागेः बाहिरकाले हेरिरहे, दाजुबहिनी जलिरहे

काठमाडौं– मुगुको खत्याड गाउँपालिका–२ गाँडेखोलामा आइतबार राती भएको आगलागीमा परि ज्यान गुमाएका बालबालिकाले आफुलाई बचाउन गुहार माग्दा पनि कसैको सहयोग पाउन नसकेको खुलेको छ।

मृतकका आफन्त बिष्णुराज दाहालका अनुसार बालबालिकाले आफुलाई बचाई दिन झ्यालबाट गुहार मागेका थिए। तर, झ्याल फुटाउने साधन तत्काल फेला पार्न नसक्दा दुवै जनाको ज्यान गएको उनको भनाई छ।

आईतबार राती करिव १ बजे भएको आगलागीमा जलेर स्थानीय लालु सञ्जयालकी १२ वर्षीया छोरी झरना र १४ वर्षीय छोरा विशालको ज्यान गएको हो। बेलुका खाना खाइसकेपछि उनीहरू आमासँगै सुत्न गएका थिए।

मृतक बालबालिकाका बाबु लालु मजदुरी गर्न भारत गएका छन्। राती करिव १ बजेतिर घरभित्र एक्कासी आगो बल्यो। आगलागी भएको कुरा विशालले चाल पाए। लगत्तै विशाल र उनकी आमा सरस्वति बाहिर निस्के।

विशालकी आमा छिमेकीसँग गुहार माग्न थालिन् भने वहिनी भित्रै भएको चालपाएपछि विशाल उनलाई बचाउन घरभित्र पसे। तर, दाजु वहिनी नै बाहिर निस्कन सकेनन्। ढोकाबाट निस्कन नसकेपछि विशालले झ्यालबाट गुहार मागेको तर, बचाउन नसकिएको स्थानीयको भनाई छ।

आफन्तले दिएको जानकारी अनुसार स्थानीय जनजागरण मावि सेरीमा विशाल ७ कक्षामा र झरना ४ कक्षामा पढ्थे। खत्याड गाउँपालिका–२ अध्यक्ष हेमराज मल्लले हृदयविदारक घटना घटेको बताए।

आगलागीबाट लालुको घरसँगै जोडिएका उनका भाइ नरदिप र डिल्ली सञ्ज्यालकोसमेत घर जलेको प्रहरीले जनाएको छ। घरभित्रै बालेको आगोबाटै आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका सई विरेन्द्र थापाले बताए।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट