छोरीसँग एउटै कोठामा भेटेपछि परिवारै मिलेर युवकको नाक र घाँटी काटेर विभत्स हत्या
काठमाडौं– एक महिनाअघि दोलखाको शैलुङ गाउँपालिका–४, मागापौवाका १८ वर्षीय भीष्म भण्डारीको हत्या भएको अनुशन्धानका क्रममा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ।
शैलुङ गाउँपालिका–५, काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपाली पक्राउ परेका हुन। विशाल नेपाली सेनामा रहेको खुलेको छ। अनुशन्धानका क्रममा तीनै जनाको मिलेमतोमा ११ पुसमा भीष्मको हत्या गरेको खुलेको छ।
मृतकको शव १६ पुसमा शैलुङ गाउँपालिका–५ स्थित बजिनी खोल्सामा फेला परेको थियो। मृतकको टाउको छुट्याईएको, नाक काटेको र औला छिनेको अवस्थामा शव फेला परेको थियो। ७ र ८ माघमा पक्राउ परेका उनीहरुले भीष्मको हत्या आफुहरुले गरेको स्विकार गरेका छन्।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी दिपक खड्काका अनुसार गैरदलित भीष्म र १६ वर्षिया दलित किशोरीबीचको प्रेम सम्वन्ध घट्नाको कारण देखिएको छ। उनीहरु दुई जनाबीच १ पुसमा मेलामा चिनजान भएको थियो।
दुवैबीच फोनमा कुराकानी हुन थालेको थियो। ११ पुसमा किशोरीले घरमा कोही नभएको भन्दै भेट्न बोलाएपछि भीष्म उनको घर गएको पाईएको छ। गाउँको पूजामा गएका किशोरीका बुबा पुस्कर साँझमा घर फर्किदा भीष्मलाई छोरीसँग कोठामा देखेपछि लछारपछार गरेको खुलेको छ।
पुस्करले भीष्मलाई लछारपछार गरेर केही पर लगेपछि भाइ इश्वर र भतिजा विशालको सहयोगमा बीभत्स हत्या गरेको अनुसन्धानका क्रममा खुलेको डीएसपी खड्काले बताए। इश्वरले घरबाट लगेको धारिलो हतियार (खुकरी) ले भीष्मलाई पछाडिबाट प्रहार गरेको र केही पर धारामा लगेर बीभत्स तरिकाले हत्या गरेको (घाँटी काटेर शरीर र टाउको छुट्याइएको) आरोपितले स्विकारेका छन्।
साँझको समयमा धारामा रगत पखालेर प्रमाण नष्ट गरेर नजिकैको बजिनी खोल्सामा युवकको शरीरलाई फालेको उनीहरुले बताएका छन्। परिवारले मापसे गरेको र आवेगमा आएर हत्या गरेको बयानमा खुलेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोगमा झन्डै डेढ महिना लगाएर गरेको अनुसन्धानका क्रममा हत्यामा संलग्नको पहिचान भएको हो।