रेशम चौधरीलाई आयोगको प्रश्नः राष्ट्रपतिबाट आममाफी पाएपछि कसुर गरेको छैन भन्न मिल्छ ?

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रपतिबाट आममाफी पाएर पार्टी अध्यक्ष बनेकोसम्मका विषयमा सवाल उठाएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रेशमलाल चौधरीविरूद्ध अक्क न बक्क परेका छन्।

रेशम चौधरी कर्तव्य ज्यान मुद्दामा दोषी भएर जन्मकैदको सजाय पाएको र राष्ट्रपतिले आममाफी दिएर छुटेको विषयमा २९ पुस र ३ माघ गरी आयोगमा २ वटा उजुरी परेका छन्। तीनै उजुरीमा उल्लेख भएका विषयबारे आयोगले चौधरीलाई र उनको दललाई प्रश्न गर्दै जवाफ मागेको छ।

हत्या आरोपमा सजाय भोगिरहेका चौधरी गणतन्त्र दिवसका दिन राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर गत १७ जेठमा रिहा भएका थिए भने २७ पुसमा कैलालीको टीकापुरमा भएको पार्टी महाधिवेशनबाट पार्टी अध्यक्षमा सर्वसम्मत चयन भएका थिए।

चौधरी अध्यक्ष चयन भएको जानकारी अद्यावधिक गराउन पार्टीले २९ माघमा आयोगलाई निवेदन दिएको थियो। नाउपाको विवरणहरू अद्यावधिक गर्नुअघि बिहीबार रेशम चौधरी र नाउपासँग जवाफ माग्ने निर्णय गरेको हो।

चौधरीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा २को खण्ड ख बमोजिम राजनीतिक दलको सदस्य बन्न योग्य व्यक्ति हो वा होइन यसका आधार र कारण के हुन् ? भनेर प्रश्न सोधेको छ। उपदफा १ बमोजिम सदस्यता वितरण गर्दा भ्रष्टाचार, जबरजस्ती करणी, मानब बेचबिखन तथा ओसारपसार, लागु औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धिकरण, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको हुनुपर्ने उल्लेख छ।

यसैगरी, ‘कर्तव्य ज्यान कसुरमा दोषी ठहर भई जन्मकैद पाएको हो वा होइन’ भनेर आयोगले चौधरीलाई प्रश्न गरेको छ। आयोगले सोधेको छ–‘तपाईंले मुद्दा नम्बर ०७७–सिआर–१०७५ को कर्तव्य ज्यान समेतको कसुरमा दोषी ठहरिई सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएको हो वा होइन? कर्तव्य ज्यान समेतको कसुर नैतिक पतन देखिने फौजदारी कसुरमा पर्छ वा पर्देन?’

‘कर्तव्य ज्यान समेतको कसुरमा अदालतबाट भएको जन्मकैदको सजायमा नेपालको संविधानको धारा २७६ बमोजिम राष्ट्रपतिबाट सजायको माफी भएको हो वा होइन? उक्त माफी विरूद्ध अदालतमा कुनै मुद्दा परेको छ वा छैन? मुद्दा परेको छ भने के कुन अवस्थामा रहेको छ?’ भनेर पनि आयोगले सोधेको छ।

अदालतबाट जन्मकैद सजाय पाइसकेका व्यक्तिलाई राष्ट्रपतिबाट माफी पाएका आधारमा कर्तव्य ज्यान समेतको कसुर नगरेको भन्न मिल्छ ? भनेर पनि आयोगले प्रश्न गरेको छ। आयोगले सोधेको छ–‘तपाईंले कर्तव्य ज्यान समेतको कसुरमा अदालतबाट भएको सजायमा माफी पाएको आधारमा कर्तव्य ज्यान समेतको कसुर नगरेको वा कर्तव्य ज्यान समेतको कसुरमा सजाय नपाएको भन्न मिल्छ वा मिल्दैन? त्यसका आधार र कारण के छन्।’

राष्ट्रपतिबाट भएको माफी बमोजिम लगतकट्टा भए÷नभएको तथा नाउपाको अध्यक्ष चयन गर्ने निर्णय विधान बमोजिम भएन÷भएको, जन्मकैद सजाय पाएकालाई सदस्यता दिन मिल्ने÷नमिल्ने, लगायतका विषयमा पनि उनको दलसँग जवाफ माग गरेको छ।

रेशम अध्यक्षमा चयन हुनु अघि नाउपाको अध्यक्षमा उनकै श्रीमती तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ थिइन्। ०७२ भदौको पहिलो साता कैलालीको टीकापुरमा थरुहट आन्दोलनकारीको आक्रमणमा परी जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, २ बर्षका बालक र ६ सुरक्षाकर्मीको मृत्यु भएको थियो।

८÷१० हजारको संख्यामा रहेका आन्दोलनकारीले कैलालीको तत्कालिन मुनुवा गाविस ६ सिलम चौराहमा घेरा हाली एसएसपी न्यौपाने, २ वर्षका बालक टेकेन्द्र साउद, इन्स्पेक्टर बलराम विष्ट, केशव बोहोरा, प्रहरी जवान लक्ष्मण खड्का, लोकेन्द्र चन्द, सशस्त्र प्रहरी हवल्दार रामबिहारी थारु र सहायक हवल्दार ललित साउदको हत्या गरेका थिए। उक्त घट्नामा दोसी ठहर गर्दै सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट