यस्तो छ सुनकाण्डमा मुछिएका महाराका ८ प्रकारका औषधी र हाजिरी जमानीको कनेक्शन
राजविराज– सुन तस्करीको आरोपमा दोस्रो पटक पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख ६६ वर्षीय कृष्णबहादुर महरा हाजिर जमानीमा रिहा भएपछि अहिले चौतर्फी चासो वढेको छ।
महराको स्वास्थ्य अवस्थालाई हेर्दा सहानुभूती देखाउने वाहेक अधिकांशले यो प्रकरणलाई प्रधानमन्त्री पुष्पकमल दाहाल र सीआईबी प्रमुख श्याम ज्ञवालीसँग जोडेर हेरिरहेका छन्।
काठमाडौँबाट नवलपुर हुँदै भारत भाग्नै लाग्दा कपिलवस्तुको सीमा क्षेत्र नजिक पकडीबाट ५ चैतमा पक्राउ गरिएको थियो। अलिगढवा नाका हुँदै भारत छिर्न लागेका महरा बाटोमा ब्यारिकेट राख्दा पनि प्रहरीलाई छलेर भाग्न खोजेको जनाईयो। तर, बर्दाघाटबाट पछ्याएर नियन्त्रणमा लिईएका महरालाई सीआईबीले सरकारी वकिल कार्यालयसँगको परामर्शमा शुक्रवार हाजिर जमानीमा छोडियो।
उनलाई न्यायिक हिरासतमा राख्न अदालतबाट अनुमति भए पनि स्वास्थ्य समस्या देखाउँदै अस्पतालमा राख्न आदेश दिएको थियो। महरा प्रहरी नियन्त्रण मुक्त भए पनि अस्पतालबाट डिस्चार्ज भने भएका छैनन्। घाँटीको टीबी र मस्तिष्कको नसामा समस्या देखिएका कारण उनी थप दुई दिन नर्भिक अस्पतालमै बस्ने जनाईएको छ।
यस्तै प्रकरणमा पक्राउ परेका अन्य आरोपीको जस्तो महरालाई हिरासतमै राख्नुपर्छ भन्ने अडान देखिएन। उनलाई जमानीमा छाड्न ब्युरो नेतृत्व नै सक्रिय भएको देखियो। त्यसका पछाडि पनि राजनीतिक लहरोले नै काम गरेको मानिन्छ।
किनकी ब्युरोका प्रमुख ज्ञवाली माआवादी नजिकका प्रहरी अधिकारीका रुपमा चिनिन्छन्। आइजिपीको प्रतिस्पर्धामा रहँदा उनी माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको ‘गुड लिस्ट’ थिए। तर, सत्ता गठवन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउँवाको अगाडि दाहालको जोर नचल्दा ज्ञवालीलाई घाटा भयो।
देउवाको हस्तक्षेपका कारण वसन्त कुँवर आइजिपी नियुक्त भए। तर, ज्ञवाली चुप लागेर बसेनन्। उपत्यका प्रहरी कार्यालय प्रमुख रहेका उनले सुन तस्करी प्रकरणमा कुँवरलाई वाईपास गरेर पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरे। यति मात्रै होईन, सुन तस्करीमा आईजीपी कुँवरको समेत संलग्न रहेको कुरा त्यतिवेला निकै चर्चामा आयो। यो सूचना ज्ञवालीले नै चुहाएको आशंकामा उनीबारे छानबिन समिति गठनको तयारी भयो।
त्यस वेला प्रधानमन्त्री दाहालले नै हस्तक्षेप गरेर छानविन समिति वन्न दिएनन्। त्यसपछि उनलाई उपत्यका प्रहरी कार्यालयबाट हटाईयो। उसै बेला ज्ञवाली सीआईबीमा जाने प्रयासमा थिए। तर, त्यहाँ किरण बज्राचार्यलाई नै कायम राखी ज्ञवालीलाई तालिम केन्द्रमा फालियो।
सरकारबाट कांग्रेस हट्नु र सुन तस्करी बारे छानविन गर्न बनेको आयोगको प्रतिवेदनमा सीआईबी प्रमुख बज्राचार्यमाथि दाग लाग्नुले ज्ञवालीलाई खुँदो पल्टियो। इनै दुई कारणले उनी सीआईबी प्रमुखको लागि योग्य भए। बज्राचार्यलाई हटाएर ज्ञवालीलाई सीआईबी प्रमुख बनाईयो।
उनै ज्ञवाली प्रमुख रहेका वेला महरालाई क्लिन चिट दिने ‘प्रचण्ड योजना’ अनुसार योजनाबद्ध रुपमा महरालाई पक्राउ गरिएको र पक्राउ परे लगत्तैदेखि ‘महरा विरामी, खान्छन् ८ प्रकारका औषधी’ भन्दै समाचार लेखाईयो। महरा रोगी भएको देखाई ‘सेन्टिमेन्टल प्रेसर’ बनाउन सुरुवात देखि नै ‘८ प्रकारका औषधी’ को विषयलाई हाईलाईट गरिएको जानकारहरु बताउँछन्।
तर, उनलाई हाजिर जमानीमा छोड्नु कानुनी रुपमै गलत भने नभएको जनाईएको छ। कानुन अनुसार हिरासतमा राखेर अनुसन्धान गर्नु पर्ने अवस्था नदेखिएको अवस्थामा प्रहरीले सरकारी वकिल कार्यालयसँगको परामर्शमा त्यस्ता व्यक्तिलाई हाजिर जमानीमा छाड्न सक्छ। तर महरा प्रहरी हिरासतमा हैन, पक्राउ परेर अदालतमा बुझाएदेखि नै नर्भिक अस्पतालको क्याबिनमा छन्।
चिकित्सकको सल्लाहअनुसार नै उनलाई अझै अस्पतालमै राखिने पारिवारिक स्रोतले बतायो। सीआबीले भने ‘उपचार जरुरी’ भन्दै दिएको अदालतको आदेश, बयान सकिएको र प्रमाण नष्ट गर्नसक्ने आधारहरु नभएकाले बाहिरै राखेर थप अनुसन्धान अघि बढाउने निर्णय भएको जनाएको छ।