तस्करी र राजश्व छलि आरोपमा पक्राउ सिरहाको शारदा डिस्टिलरीका सञ्चालक गोयन्का साढे २ करोड धरौटीमा रिहा

लहान– राजस्व छली र तस्करी आरोपमा पक्राउ परेका सिरहाको गोलबजार स्थित शारदा डिस्टिलरीका सञ्चालक प्रमोद गोयन्का धरौटीमा रिहा भएका छन्।

आन्तरिक राजस्व कार्यालयले गोयन्कालाई २ करोड ३८ लाख ५१ हजार ६३३ रुपैयाँ धरौटीसँगै हाजिरी जमानीमा रिहा गरेको हो। नक्कली बिल र स्टिकरको प्रयोग गरी राजश्व छलि गरेको र तस्करी गरेको आरोपमा उनी पक्राउ परेका थिए।

शारदा डिस्टिलरीले अन्तःशुल्कको एउटा स्टिकरलाई दुई टुक्रा बनाई अवैध रूपमा प्रयोग गर्दै आएको खुलेपछि ३ चैतमा डिस्टिलरीको मदिरा भण्डारण गरेको माडर स्थित आशिष जनरल स्टोरका सञ्चालक ललनकुमार यादव र शारदा डिस्टिलरीका प्रतिनिधि लोकबहादुर बस्नेतलाई पक्राउ गरेको थियो।

आशिष जनरल स्टोरबाट दुई टुक्रा पारी लगाइएको मदिराका बोतलहरू समेत नियन्त्रणमा लिएको राजश्व अनुशन्धान कार्यालयले त्यसको अनुशन्धानकै क्रममा प्रमोद पनि पक्राउ परेका थिए। राजस्व कार्यालय लहानका प्रमुख पुन्य रिजालका अनुसार गोयन्कामाथि २ करोड ३८ लाख ५१ हजार ६ सय ३३ रुपैयाँ बिगो कायम गरिएको छ।

सोहीबमोजिम धरौटी बुझाएर प्रमोद मंगलबार तारेखमा रिहा भएका हुन्। जनरल स्टोरका सञ्चालक ललनकुमार यादव पनि धरौटी जमानीमा शुक्रबार छुटेका थिए। यादवलाई २० लाख ८९ हजार रुपैयाँ धरौटी लिएर छाडिएको हो। यादवको गोदामबाट त्यति नै रकमबराबरको अवैध मदिरा बरामद भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट