हत्या, ठगी र तस्करीका अभियुक्तको झुण्ड भयो सरकार, गृहसहित ३ मन्त्री सहकारी ठगीका अरोपी

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठित सरकार हत्या, ठगी र तस्करीका अभियुक्तहरुको झुण्ड जस्तो देखिन थालेको छ। उनको मन्त्रिमण्डलमा सहकारी ठगीको आरोप लागेका मन्त्रीको संख्या तीन पुगेको छ।

गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा विवादित भईरहेका बेला रास्वपाका उपसभापति एवम् श्रममन्त्री डीपी अर्याल र माओवादीका नेता एवम् जलस्रोत मन्त्री शक्तिबहादुर वस्नेत पनि सहकारी ठगी प्रकरणमा तानिएका छन्। लामिछाने प्रहरीको अनुसन्धानको दायरामा रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छानबिन गर्न संसदीय समितिको माग गरिरहेको छ। त्यही मेसोमा अर्याल र बस्नेत समेत विवादमा तानिएका छन्।

रवि पोखराको सुर्यदर्शनदेखि बुटवलको सुप्रिम सहकारीसम्मको अनुसन्धानमा पहिल्यै प्रहरीको अनुसन्धानमा तानिएका थिए। सुर्यदर्शन सहकारीको अनुसन्धानमा परेको पूरक जाहेरीमा उनको नाम पोलिएको छ। सबै सहकारीमा जीवी राई संलग्न देखिएपछि सीआईबीले काठमाडौँमा रहेको स्वर्णलक्ष्मीदेखि चितवनको सहारासम्मको अनुसन्धान गरेको थियो।

सीआईबीले जीवी जोडिएको सहकारीको अनुसन्धानकोक्रममा हर्बोको कार्यालयमा छापा मारेर केन्द्रीय सर्भर समेत फेला पारेको थियो। सीआईबी अनुसन्धानमै रहँदा सत्ता गठबन्धन बदलिएसँगै रवि गृहमन्त्रीको रूपमा आए। त्यसपछि सीआईबीको जीवी केन्द्रित अनुसन्धान रोकियो।

पूर्व एआईजी छविलाल जोशीको घरमा लुकाएर राखेको अवस्थामा फेला परेको सर्भरमा कारोबारबारे महत्वपूर्ण विवरणहरू फेला परेको अनुसन्धानरत स्रोतले खुलाएको थियो। अहिले अनुसन्धानबारे सीआईबीका अधिकारी बोल्न समेत चाहँदैनन्। अनुसन्धानको नेतृत्व गरेकी सीआईबी प्रमुख किरण बज्राचार्यको सुन छानबिन आयोगको प्रतिवेदनलाई कारण देखाएर सरुवा भइसकेको छ।

प्रहरी स्रोतका अनुसार अर्याल र वस्नेत सहकारी ठगीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धानको दायरामा छन्। रास्वपाका सह–महामन्त्री कवीन्द्र बुर्लाकोटी समेत सहकारी ठगीबारे सीआईबीको अनुसन्धानको दायरामा तानिएको खुलेको छ।

रास्वपाका उपसभापति डिपीदेखि उर्जामन्त्री बस्नेतसम्म जोडिएको सहकारी हाम्रो नयाँ कृषि सहकारी संस्था हो। यसको वर्तमान अध्यक्ष पनि जीबी राई नै थिए। सो सहकारीका बचतकर्ताहरूले रकम नपाएको भन्दै निवेदन दिएपछि सरकारले सहकारीलाई समस्याग्रस्त घोषणा गरेर छानबिनका लागि सीआईबीलाई पत्राचार गरिसकेको छ।

सो सहकारीमा बचतकर्ताहरुको चार करोड रकम रहेको र सो फिर्ता नभएको देखिन्छ। ऊर्जामन्त्री रहेका बस्नेत सो सहकारीका संस्थापक अध्यक्ष रहेको खुलेको छ। बस्नेतपछि उनको श्रीमती सत्या पहाडी अध्यक्ष भइन्। तेस्रो अध्यक्ष सूर्यबहादुर गुरुङ भए। गुरुङपछि जीबी राई अध्यक्ष भएका थिए।

गुरुङ अध्यक्ष रहेको बेलामा श्रममन्त्री अर्याल उपाध्यक्ष रहेको खुलेको छ। रास्वपाका सह–महामन्त्री बुर्लाकोटी पनि गुरुङकै कार्यसमितिमा सञ्चालक सदस्य थिए। अनुसन्धानको क्रममा २०७९ असोज २२ सम्म अर्याल र बुर्लाकोटी सहकारीको पदाधिकारी नै रहेको पुष्टि भएको छ। त्यसपछि जीवी अध्यक्ष भए। उनीहरू सञ्चालकमा दोहोरिएनन्।

यता, माओवादी नेता एवम् अर्थमन्त्री वर्षमान पुन सुन तस्करी प्रकरणमा जोडिएका ब्यक्ति हुन। स्वयम प्रधानमन्त्री पुष्पकमल दाहालमाथि १७ हजार मान्छे मारेको भन्दै पटक पटक मुद्दा पर्दै आएको छ भने राजधानीमा प्रदर्शन समेत भएको छ। रास्वपाकी सांसद तोसिमा कार्कीले एक पटक १७००० प्लस २ लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेकी थिईन।
गृहमन्त्री लामिछानेले भने आफु विरुद्ध प्रहरीमा उजुरी नै नपरेको र सूचना मात्रै आएको दावी गर्दै आएका छन्। नेपाल प्रहरीका प्रमुख आईजीपी बसन्त कुँवरले समेत रविलाई सहकारी ठगी प्रकरणमा क्लिन चिट दिएका छन् भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार वचाउनकै लागि लामिछानेलाई निर्दोश घोषणा गरिसकेका छन्।

लामिछानेले अर्याल र वुर्लाकोटी प्रकरणमा पनि प्रश्न उठ्दैमा आत्तिन आवश्यक नरहेको बताएका छन्। उनले समाचारमा आउने सबै कुरा सत्य नहुने भन्दै सत्य के हो त्यसको खोजी गरेर समाचार प्रकाशन एवं प्रशारण गर्न आग्रह गरे। उनले एक जना पत्रकार र पत्रिकामा समाचार छापिने बित्तिकै दोष प्रमाणित नहुने बताए। उनले प्रमाणित भएको कुरा र प्रचारबाजीमा फरक रहेको जिकिर गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट