डढेलोमा परेर घाईते भएका तीनै जना बालकको मृत्यु, ३ सैनिकको पनि जलेरै गयो ज्यान
काठमाडौं– डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा पर्ने सुँ सामुदायिक वनमा लागेको डढेलोमा परेर विहिवार घाईते भएका तीनै जना बालकको मृत्यु भएको छ।
जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा १० वर्षीय सुलस बुढाको शुक्रबार र दुई जनाको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको हो। काठमाण्डौमा रहेका १ जनाको राती र १ जनाको बिहानपख मृत्यु भएको डोल्पाका सीडीओ तुलसीप्रसाद दाहालले जानकारी दिए।
काठमाडौँमा १२ वर्षीय विवस बूढा र १३ वर्षीय समन्त बूढाको मृत्यु भएको हो। उनीहरु गाउँ नजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएको बेला डढेलोमा परेका थिए। वडाध्यक्ष रञ्जित बुढाका अनुसार तीनै जना बालक एकै गाउँका हुन।
यो घट्नाले सिङ्गो गाउँनै शोकमा डुबेको उनले बताए। आगलागीमा परेर मृत्यु हुनेमा एकै घरका दुई बालक छन्। त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालकको उपचारको लागि हेलिकप्टरको व्यवस्था गरेर काठमाडौँ पु¥याइएको थियो।
डोल्पामै गत मंगलबार ठूलीभेरी नगरपालिका–४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका ४ सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो।