घुस्याहा ‘उषाकिरण’को कालो कर्मः नाबालिका छोरीको सहारामा थुनामुक्त

पोखरा– डेढ लाख घुस प्रकरणमा पक्राउ परेकी पोखरा महानगरपालिकाकी सबइन्जिनियर उषाकिरण रोकाया विहिवार साधारण तारेखमा छुटेकी छिन्। उनी २६ महिने शिशुलाई सहारामा बनाएर थुनामुक्त भएकी हुन।
२८ चैतदेखि ६ वैशाखसम्म अख्तियार दुरुपयोग अनुशन्धान आयोगको हिरासतमा वसिसकेकी रोकायालाई अख्तियारले थप १५ दिन थुनामा राख्न खोजेको थियो। तर, अख्तियारले म्याद माग्नु अघि नै उनले शिशुलाई अघि सारेर थुनामुक्त हुन माग गरेकी थिईन।
सोही अनुसार विशेष अदालतले रोकायालाई तारेखमा थुनामुक्त गरेको हो। छोरीले संरक्षणमा रहन पाउने हक समेतलाई आधार मानी उषाकिरणलाई हिरासतमा राखी अनुसन्धान गर्न मनासिव नदेखिएकोले तारेखमा छाड्न आदेश दिएको विशेष अदालतले जनाएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले रोकायालाई तारेखमा राखी अनुसन्धान गर्न आदेश दिएको हो। उनीसहित गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई अख्तियारले घुसको १ लाख ५० हजार रूपैयाँसहित पक्राउ गरेको थियो।
यो प्रकरण अनुशन्धानका क्रममा महानगरका अर्का इन्जिनियर शिवराज बराल पनि पक्राउ परेका छन्। उनीहरुले यही एउटै काममा पनि पटक पटक घुस लिएको खुलेको छ। रंगेहात डेढ लाख रुपैयाँ भेटिए पनि पटक पटक पैसा लिएको अनुसन्धानबाट देखिएको आयोगले जनाएको छ।
पोखरा महानगरपालिका १० का एक सेवाग्राहीको घर निर्माण सम्पन्न भएको प्रमाण दिन घुस लिएको प्रमाणसहित पक्राउ परेकी सबइन्जिनियर रोकायालाई महानगरले भने निलम्बन गरेको छ। रोकाया करिब ४ बर्ष अगाडि लोक सेवा आयोगको परिक्षा पास गरी गण्डकी प्रदेशबाट सब ईन्जिनियरमा नियुक्त भएकी हुन। उनी बिरुवा गाउँपालिका स्याङ्जामा पदस्थापन भएकी थिइन्।