कुवेत जाने तयारीमा रहेकी महिलालाई दिल्ली पुर्याएर यौन शोषण, पक्राउ परे भण्डारी
काठमाडौं– राम्रो आन्दानीसहित कुवेतमा रोजगारी दिलाउने भन्दै मेडिकल र भिसा प्रक्रियाको वहाना बनाई नयाँ दिल्ली पुर्याएर एक महिलालाई यौन शोषण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पीडित महिलाकै उजुरीका आधारमा दाङको बबई गाउँपालिका –५ का ४५ वर्षीय पूर्णबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार भण्डारीले ती महिलालाई कुवेत जानका लागि आफै लगानी गरिदिन्छु भन्दै दिल्ली पुर्याएका थिए।
त्यसअघि उनले महिलालाई १० दिनसम्म नयाँ बसपार्क र गत ११ जेठमा बुटवलको एक होटलमा राखेको खुलेको छ। नयाँ बसपार्कमा रहँदा भण्डारीले नै महिलाको राहदानी बनाइदिएका थिए। त्यसपछि भिसा तथा स्वास्थ्य परीक्षणको लागि दिल्ली जानुपर्छ भन्दै एम्बुलेन्स चढाएर बुटवल पुर्याएका थिए।
भारतबाट विदेश जाने प्रक्रिया छिटो हुन्छ भन्ने विश्वास दिएर आफुलाई नयाँ दिल्ली पु¥याईएको महिलाले जाहेरीमा उल्लेख गरेकी छिन्। दिल्ली पुर्याएर उनीहरुकै फ्ल्याटमा राखि यौन शोषण गरेको पीडित महिलाले जनाएकी छिन्।
आफु समस्यामा पर्न थालेपछि उनले कुवेत नजाने बताएकी थिईन। त्यसपछि भण्डारीले झन अन्य भारतीय युवाहरूसँग शारीरिक सम्पर्क राख्न दबाब दिएको उनको आरोप छ। त्यसपछि उनी १३ असारमा भागेर नेपाल आएकी थिईन।
भागेर नेपाल आईपुगेकी महिलाले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी दिएकी छिन। यो घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास भईरहेको ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले बताए।