कुटपिट गरेपछि माईतमा बसेकी श्रीमतीलाई सुध्रिने बाचा गरेर घरमा ल्याई हत्या

काठमाण्डौं– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ सबुनीकी ललिता कँहारको हत्या गरेको आरोपमा प्रहरीले उनकै श्रीमान् जोखन कँहारलाई पक्राउ गरेको छ। २१ वैशाखमा खुकुरीले हानेर श्रीमतीको हत्या गरेर उनी फरार थिए।
प्रहरीले कँहारलाई सोमवार विहान साढे ८ बजे पाल्हीनन्दन गाउँपालिका–६ पडरीबाट पक्राउ गरेको हो। नवलपरासी प्रहरीका इन्स्पेक्टर सुदर्शन पन्थीका अनुसार भारतको महारजगञ्ज जिल्लास्थित नौतनवा माईत भएकी ललिता र जोखनको ८ वर्षअघि विवाह भएको थियो।
उनीहरुका दुई छोरा छन्। प्रहरीको अनुशन्धान अनुसार श्रीमान श्रीमतीबीच लामो समयदेखि विवाद हुँदै आएको देखिएको छ। ६ महिनाअघि पनि दुईबीच विवाद भयो। त्यसक्रममा जोखनले ललितालाई हातपात समेत गरेका थिए।
त्यसपछि ललिता माइतमै बस्दै आएकी थिइन्। पछि जोखन ससुरालीमै पुगेर ‘अव म सुध्रिन्छु। कहिलै झगडा गर्दिन’ भन्दै बचा गरेर २१ वैशाखमा घरमा ल्याएका थिए। सोही दिन राति साढे १० बजे उनले धरिलो हतियारले हानेर ललिताको हत्या गरी फरार भएका थिए।
प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी उनको बारेमा थप अनुसन्धान गरिरहेको छ।