२ वर्षको टिकटकको प्रेम मकैबारीमा अन्त्यः प्रियसनालाई बलात्कार गरेर अर्की केटी लिएर भागे प्रेमी

वीरगन्ज– वैदेशिक रोजगारीका क्रममा दुबईमा रहेका पर्साको बहुदरमाई नगरपालिका–४ डोकैला बहुअरीका माधव पासवान र वीरगन्ज–१८ की २२ वर्षीया प्रियसना (परिवर्तित नाम) को २ वर्षअघि टिकटकमा चिनजान भयो। विस्तारै फेसवुक, ह्वाट्अप, इमोलगायतका सामाजिक सञ्जालमा पनि उनीहरु नजिक भए।

सामाजिक सञ्जालमै प्रेम सम्बन्ध गाँसियो। माधवले नेपाल फर्किएलगत्तै प्रियसनासँग विहे गर्ने बाचा गरे। नभन्दै गत १३ वैशाखामा उनी दुबईबाट गाँउ फर्किए। भोलिपल्ट (१४ वैशाख) गाँउ नजिकको नहरमा उनीहरुको भेट भयो। निरन्तर फोन सम्पर्कमा रहिरहे। त्यसको ४ दिनपछि (१८ वैशाख) माधवले फेरी उनलाई भेट्न बोलाए।

प्रियसना माधवलाई भेट्न गाँउको मठमा पुगिन। दुवैबीच भागेर विवाह गर्ने सल्लाह भयो। त्यसपछि साईकलमा चढेर दुवै जना बाराको नितनपुर र छातापिपराको बीचमा पर्ने मकैबारीमा पुगे। त्यहाँ पुगेपछि माधवले शारीरिक सम्बन्धको प्रस्ताव राखे । तर, प्रियसनाले मानिन्। विवाहपछि मात्रै सवैथोक गर्ने भनेपछि माधवले जबर्जस्ती गरे। प्रियसनाले प्रतिवाद गर्दागर्दै पनि माधवले शारीरिक सम्बन्ध राखे। त्यसपछि उनी रुन थालिन। यो देखेपछि माधव आत्तिएर आफनो एक जना साथीलाई मोटरसाइकल लिएर आउन भने। मोटरसाईकल आएपछि प्रियसनालाई मकैबारीमै छोडेर उनीहरू भागे।

साँझ परिसकेकाले उनी नितनपुरका एक युवकको साथमा लागेर उनकै परिवारसँग वसिन। भोलिपल्ट विहान (१९ वैशाख) तिनै युवकको साथ लागेर उनी जिल्ला प्रहरी कार्यालय पर्साको सम्पर्कमा पुगिन। पर्सा प्रहरीले घटनास्थल बारा जिल्लामा भएको भन्दै उता पठायो।

प्रियसना २० वैशाख मा बलात्कारको जाहेरी लिएर इलाका प्रहरी कार्यालय सिमरामा पुगिन। तर, प्रहरीले उनको जाहेरी दर्ता गर्दिएन। प्रहरीले सोमवार छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो। तर, माधव प्रहरीमा उपस्थित भएनन्। प्रियसनाका बुबाका अनुसार माधव आईतबार नै फरार भएर भारत पुगेका छन्।

उनी आफु मात्र नभई बाराको मधुवनकी एक युवतीलाई समेत लिएर गएका छन्। उनीहरुले भारतको रक्सौलमा गएर मन्दिरमा विवाह गरेको उनले बताए। इलाका प्रहरी कार्यालय सिमराका डीएसपी चिरञ्जिबी दाहालले ‘अझै केही दिन कुरौं, त्यसपछि जाहेरी दर्ता गरौंला’ भनेर जवाफ दिएको उनी बताउँछन्।

डीएसपी दाहालले भने आरोपित भनिएको माधव प्रहरीले बोलाउँदा नआएकाले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइसकेको बताएका छन्। कलैया अस्पतालमा प्रियसनाको स्वास्थ्य परीक्षण समेत गराई सकिएको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट