कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत धुनषाले सिरोहीयालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।
जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा मंगलबार सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गरेको अदालत प्रशासनले जनाएको छ। धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले नागरिकता प्रकरणमा सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको बताए।
‘इजलास २ बाट कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न आदेश जारी भएको छ।’ घिमिरेले भने। अदालतको मंगलबारको इजलाशबाट यस्तो आदेश आएको उनको भनाई छ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको नागरिकता नम्बरमा रहेको रेकर्ड अर्कै व्यक्तिको रहेको पाइएपछि गत वैशाख तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो।
तर सिरोहियाले त्यसबेला नै उक्त उजुरीको खण्डन गरेर आवश्यक भए अनुसन्धान गर्न चुनौती दिएका थिए। उक्त उजुरीबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको थियो। त्यसपछि सिरोहीया पक्राउ रोक्न माग गर्दै अदालत पुगेका थिए।
आफूमाथि हुने सम्भावित धरपकड रोक्न माग गर्दै सिरोहियाले सर्वोच्च अदालतमा निवेदन दिए। उनले अन्तरिम आदेशको माग गरेका थिए। आफूले सञ्चालन गरेको सञ्चारमाध्यमको सामग्रीका कारण आफूमाथि प्रतिशोध साध्न खोजिएको र नागरिकताको बहानामा आफूलाई पक्राउ गरी हतोस्साहित गर्न खोजिएको भन्दै उनले गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालय, धनुषालाई विपक्षी बनाएका थिए।