प्रधानमन्त्रीले रोक्दारोक्दै रवि लामिछानेले सिरोहियालाई पक्राउ गर्न किन पठाए प्रहरी ?

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल भन्दा एक कदम अगाडि भएको खुलासा भएको छ।
प्रधानमन्त्री दाहालले गृहमन्त्री रवि लामिछानेलाई आजै भेटेर सिरोहियालाई अहिले नै पक्राउ गर्नेतर्फ नलाग्न भनेका थिए। मंगलबार प्रतिनिधि सभा बैठक सुरू हुनुअघि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा भेट भएका बेला दाहालले लामिछानेलाई अहिले नै सिरोहियालाई नसमाउन भनेका हुन्।
प्रधानमन्त्री दाहालले ‘कान्तिपुरका अध्यक्ष सिरोहियालाई अहिले नै समात्ने होइन’ भनेर गृहमन्त्रीलाई भनेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले वताएका छन्। उनले सिरोहियाको गिरफ्तारीमा प्रधानमन्त्रीको कुनै संलग्नता नरहेको बताएका छन्।
तर अदालतको पुर्जी रोक्ने अधिकार सरकार, प्रधानमन्त्री र गृहमन्त्रीलाई नहुने भन्दै लामिछानेले सिरोहीयालाई पक्राउ गर्न प्रहरी पठाएको जनाईएको छ। प्रहरी कान्तिपुरको कार्यालयमै पुगेको छ। धनुषा जिल्ला अदालतले मंगलबार कान्तिपुरका अध्यक्ष सिरोहियालाई नागरिकताबारे पक्राउ पुर्जी जारी गरेको थियो।