सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन, विश्वकप खेल्न नपाउने

राजविराज– क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ। लामिछानेले नै फेसबुकमार्फत यसको जानकारी दिएका छन्। उनले आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका छन्।

बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो। लामिछानेले विश्वकप खेल्न नपाएकोमा समर्थकहरुसँग माफी मागेका छन्।

टी–२० विश्वकप खेल्न उनले पनि तयारी गरेका थिए। मुद्दाको फैसला आउनासाथ नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेमाथि लगाएको निलम्बन तत्काल फुकुवा गरेको थियो। उनी त्रिभुवन विश्वविद्यालयस्थित मैदानमा रहेको प्रशिक्षण स्थलमा अभ्यास गरिरहेका थिए।

उनको अभ्यास हेर्न संघका सचिव पारस खड्का पनि पुगेका समाचारहरु सार्वजनिक भएका थिए।

लामिछानेलाई अमेरिकाले यसअघि सन् २०१९ मा पनि भिसा दिएको थिएन। दुतावासले पछि भुलसुधार गर्दै उनलाई भिसा दिएको थियो। यस पटक भने उनलाई बलात्कार प्रकरणले नियोजित रुपमा भिसा नदिएको जनाईएको छ।

लामिछाने विरुद्ध २१ भदौ ०७९ मा गौशाला २६ ले काठमाण्डौंको गौशाला प्रहरी कार्यालयमा उजुरी बलात्कारको उजुरी दिएकी थिईन। लगत्तै २३ भदौमा नेपाल क्रिकेट सङ्घको कार्यसम्पादन समितिले राष्ट्रिय क्रिकेट टोलीबाट उनलाई निलम्बन गर्यो। उनी २० असोजमा स्वदेश फर्केपछि विमानस्थलमै पक्राउ परेका थिए।

१४ कात्तिकमा उनि विरुद्ध मुद्दा दर्ता भयो भने २८ पुसमा उच्च अदालत पाटनले सर्तसहित २० लाख धरौटीमा रिहा गर्यो। १८ माघमा क्यानको निलम्वन फुकुवा भयो भने १६ फागुनमा सर्वोच्च अदालतले उनलाई उच्चको सर्त फुकुवा गर्दै देशबाहिर गएर क्रिकेट खेल्न पाउने अनुमति दियो।

९ चैत ०८०मा लामिछानेको मुद्दामा किशोरीको जाँच गर्ने चिकित्सकलाई अदालतमा झिकाउने जिल्ला अदालतको आदेश भएको थियो भने ७ जेठ ०८० मा वडा कार्यालयबाट उजुरीकर्ताको जन्मदर्ताको अभिलेख र जन्म भएको भनिएको अस्पतालबाट दर्ता किताब झिकाउने आदेश भयो। ११ असारमा गौशाला २६ लाई अन्तरिम राहतस्वरूप उपचार खर्च दिन जिल्ला अदालतको आदेश दियो।

त्यसपछि १३ पौष ०८० मा काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपले बलात्कार गरेको ठहर गर्दै २५ पुसमा ८ वर्ष जेल सजाय तथा जरिवानाको फैसला सुनायो।

उनले उच्चमा जिल्लाको फैसला विरुद्ध पुनरावेदन गरे भने सरकारी वकिलले लामिछानेलाई कम सजाय भएको भन्दै अझै धेरै सजायको माग गर्दै पुनरावेदन गर्यो। उच्च अदालत पाटनले २ जेठ ०८१ मा सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दियो। क्यानले सोही दिन उनको निलम्बन फुकुवा गरेको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट