भारतको बेंग्लुरुमा ग्याँस सिलिन्डर विस्फोट हुँदा २ नेपाली बालबालिकाको मृत्यु, ३ जनाको अवस्था गम्भिर

काठमाण्डौं– भारतको बेंग्लुरुमा खाना पकाउने ग्याँस विस्फोट हुँदा २ नेपाली बालबालिकाको मृत्यु भएको छ। बेंग्लुरुको एलहंकामा भएको यस दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिका–१, मदन बोहराका ८ वर्षीय छोरी अनिता र साढे ४ वर्षका छोरा प्रशान्तको मृत्यु भएको हो।
यो घटना गत बुधबार राति ११ बजेतिर भएको जनाईएको छ। सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा एक्कासि ग्याँस विस्फोट भएको थियो। विष्फोटमा मदन, उनकी श्रीमती प्रेमजला, दुई छोरी र एक छोरा जलेर घाइते भएका थिए। घटनालगत्तै घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो।
अस्पताल पुर्याए पनि छोराको हिजो र छोरीको आज बिहान मृत्यु भएको हो। घाइते भएकाहरूको उपचारका लागि सहयोग गरिरहेकी एक जना नेपाली जमुना पौडेलका अनुसार मदनकी श्रीमती प्रेमजला र जेठी छोरी ११ वर्षकी निरुताको स्वास्थ्य अवस्था पनि जटिल रहेको डाक्टरले बताएका छन्।
मदनकी श्रीमती प्रेमजला ७२ प्रतिशत र छोरी निरुताको ४७ प्रतिशत शरीर जलेको चिकित्सकले बताएको उनले जानकारी दिइन्। ३२ वर्षीय मदन विगत ६ वर्षदेखि परिवारसहित भारतमा बस्दै आएका थिए। मदन अपार्टमेन्टमा चौकीदारको काम गर्थे भने उनकी श्रीमती स्थानीयको घरमा सरसफाइको काम गर्दै आएकी थिईन।