रक्सी खाएर केटी जिस्क्याउँदा ट्राफिक प्रहरी मारिएको खुलासा, युवतीका प्रेमीसहित ७ जनाको ग्याङ पक्राउ (फोटो फिचर)

काठमाडौँ — ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरु सवै लागु औषध प्रयोगकर्ता हुन।

काठमाडौं महानगरपालिका–१६ स्थित अष्टनारायण हलपछाडि र बाइसधारा जंगलबाट हवाई फायर गरी उनीहरुलाई पक्राउ गरिएको हो। भक्तपुरको चाँगुनारायण–१ घर भई हाल बालाजु जरंखु, मनमैजुका केही स्थानहरूमा सडकपेटी र निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्ने २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिकाका १८ वर्षीया अञ्जली श्रेष्ठ र स्याङ्जाको आँधीखोला गाउँपालिका–३ विजयचौतारीका २१ वर्षीया विपना वसन्ती भन्ने वसुन्धरा कार्की पक्राउ परेका छन्।

यसैगरी, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ विजयचौतारीकी ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटाको ओखरेका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १ का ३० वर्षीय दोर्जे अमृत तामाङ र उदयपुरका १३ वर्षीय बालक पनि पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले बताएका छन्।

प्रारम्भिक अनुशन्धानमा विहिवार ड्युटी सकेर कोठा जाँदै गरेका घिमिरे खाजा खानका लागि राती करिव ९ वजे तारकेश्वर नगरपालिका–११ स्थित खाजा घरमा प्रवेश गरेका थिए। त्यहाँ सचिन परियार र अञ्जली श्रेष्ठ पनि खाजा खाइरहेका थिए। घिमिरे र सचिनको पुरानो परिचय रहेको अनुसन्धानमा देखिएको छ। युवराज बसपार्क क्षेत्रमा कार्यरत रहँदा सचिनसँग चिनजान भएको थियो। सचिन भारी बोक्ने काम गर्थे।

यता, सचिन र अन्जली लिभिङ टुगेदरमा रहेको पाईएको छ। खाजा खाने क्रममा उनीहरु तीनै जना सँगै वसेर रक्सी समेत खाए। त्यस क्रममा घिमिरेले अञ्जलीलाई जिस्काएपछि आफूलाई रिस उठेको सचिनले बताएका छन्। त्यसपछि उनले अञ्जली अस्वस्थ भएको भन्दै दुवै जनालाई हरियोचौरसम्म पुर्याइदिन आग्रह गरेका थिए। प्रहरी जवान घिमिरेले नै सचिन र अञ्जलीलाई मोटरसाइकलमा राखेर हरियोचौरस्थित घट्नास्थलमा पु-याए।

मनमैजुको बासुकी नाग टोलस्थित जोनस भन्ने दामोदर खत्रीको २ तले निर्माणाधीन घर नजिकै पुगेपछि सचिनले सुरूमा हेल्मेटले युवराजलाई प्रहार गरे। हेल्मेटले हानेपछि युवराज पानी माग्न थाले। त्यसै क्रममा उनले कार्की, तामाङलगायतका साथीलाई पनि बोलाए।

त्यसैपछि पालैपालो बेल्ट, ढुंगा र इट्टाले प्रहार गरेर युवराजको हत्या गरेको एसएसपी रजौरेले बताए। हत्यापछि युवराजका सबै कपडा खोलेर नजिकै आगो बालेर जलाइदिए। युवराजको शव पनि अर्को ठाउँमा लगेर छोपिदिए।

त्यसपछि सातै जना त्यहाँबाट राति नै बाटो भागेका थिए। जरंखुमा पुगेर उनीहरू त्यहाँको एउटा घरको बार्दलीमा सुतेका थिए। सीसीटीभी फुटेज पछ्याउँदै जाँदा शनिबार प्रहरीले सुरुमा १३ वर्षीय बालकलाई फेला पारेको थियो।

उनले नै घटना विवरण र संलग्नहरुको बारेमा प्रहरीलाई जानकारी दिए। घिमिरेको हत्या हुनुमा लुटपाट, महिलासँगको विवादलगायतका कारण हुनसक्नेतर्फ अनुसन्धान अघि बढेको एसएसपी रजौरे बताउँछन्। पक्राउ परेकाहरुले घिमिरे पनि लागु औषध (गाँजा) प्रयोगकर्ता रहेको दाबी गरेका छन्।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ लफ्याङ घर भई सामाखुशीमा डेरा गरेर बस्दै आएका प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौंको तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित हरियोचौरको २ तले निर्माणाधिन भवनको भुईमा रगताम्मे अवस्थामा फेला परेको थियो। त्यो घरलाई लागुऔषध प्रयोगकर्ताहरूले अखडा बनाएका थिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको एसएसपी रजौरेले जानकारी दिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट