स्यालले खनेको ठाउँ खोतलेर निकालिएका दुवै शवको सनाखत, मृतक बाराका

जनकपुर- पर्साको जगरनाथपुरस्थित दशगजामा ३ दिनअघि फेला परेका दुई शवको सनाखत भएको छ।
प्रहरीका अनुसार मृतक बाराको कलैया उपनपा–६ का ६० वर्षीय रामएकवाल पंडित कुम्हाल र बाराकै आदर्शकोतवाल गाउँपालिका–७ का ४० वर्षीय सुरेश ठाकुर लोहार हुन। उनीहरुको शव दशगजामा गाडिएको अवस्थामा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दीपक भारतीका अनुसार सुरेश हाल कलैया उपमहानगरपालिका बस्दै आएका थिए। दुवै शवको नारायणी अस्पताल वीरगन्जमा परीक्षण भएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी भारतीले बताए। जगरनाथपुर– १ विसनपुर्वाबाट भारतको नगरदाहतर्फ जाने बाटोको ओरिया खोला नजिकै नेपाल–भारत सीमा दशगजाको ४२१/५ नम्बरको सीमास्तम्भ नजिकै ती शव गाडिएको थिए।
शव गाडेको स्थानमा स्यालले खोतलेपछि सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त गस्ती टोलीले मंगलबार ती उत्खनन गरी निकालेको थियो।