सिमलताल पहिरोमा परेका ११ जनाको शव भेटियोः खोजीका लागि सहयोग गर्न भारत र बंगलादेशलाई आग्रह

चितवन— चितवनको सिमलताल पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसका ६२ यात्रु मध्ये हालसम्म ११ जनाको शव फेला परेको छ। २ वटा बसमा कुल ६५ जना रहेकोमा ३ जना जिवितै निस्कन सफल भएका थिए।
यसरी ज्यान बचाउने मध्ये रौतहटका २६ वर्षीय सुरज गुप्ता, नन्दन यादव र जुगेश्वर यादव छन। यता, हालसम्म फेला परेका ११ मध्ये ५ जनाको शव सनाखत भएको छ। माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी, भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह, बिहारकै ३७ वर्षीय जयप्रकाश ठाकुर र भारत बेतियास्थित मझेलिया थाना घर भएका ३० वर्षीय सजाद अन्सारीको शव सनाखत भएको छ।
खोजी र उद्धारमा संलग्न सुरक्षा टोलीले स्थानीयले दिएको सूचनाका आधारमा आईतबार थप ६ वटा शव फेला पारेको हो। तर, ती बसकै यात्रीको भए÷नभएको पुष्टि भइसकेको छैन। आइतबार राति गण्डक ब्यारेजको १ र ६ नम्बर ढोकामा २ वट शव अडकिएको अवस्थामा भेटिएको थिए। आइतबार राति शव झिक्न नकसेपछि ब्यारेजका ढोका बन्द गरेर राखिएको थियो। सोमबार बिहान शव निकाल्न प्रहरी टोली खटिएको छ।
दुर्घटनास्थलमा शुक्रबार बिहानैदेखि गोताखोरसहितको टोली उद्धार र खोजीमा सक्रिय भए पनि बस भेटिएका छैनन्। चितवनका सीडीओ इन्द्रदेव यादवका अनुसार घटनास्थलभन्दा धेरै पर त्रिवेणीसम्म शवहरु भेटिएका छन्।
यसैबीच, हराइरहेका बस र तीनमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ। दुवै बसमा गरेर ९ जना भारतीय यात्रु पनि थिए। ति मध्ये ३ जना भारतीय यात्रुको शव भेटिएको छ।
आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन्। बंगलादेशका गोताखोर उद्धारमा उत्कृष्ट मानिन्छन्। तर बंगलादेशको टोलीले जलप्रवाह तीव्र भएको स्थानमा खोज्ने गरेको छैन।
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बसलाई सोहोरेर त्रिशूली नदीमा खसालेको थियो। खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरीको गोताखोरसहित करिब पाँच सय जनाको टोली परिचालन गरिएको छ।