६ दिनसम्म किन भेटिएनन् त्रिशुलीमा खसेका बस ? यी हुन ३ कारण
चितवन– चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशुलीमा बेपत्ता भएका २ वटा बस र ४५ जना यात्रुको अवस्था ६ दिनसम्म पनि अज्ञात छ। हालसम्म १७ जनाको शव भेटिएको छ।
त्रिशुलीमा वगेका कतिपय यात्रु फेला नपर्नु स्वभाविक होला, तर २ वटा बस नै वेपत्ता हुनुलाई भने आश्चर्य मानिएको छ। सशस्त्रको खोज तथा उद्धार टोलीले वेपत्ता बस र यात्रुको खोजीमा भएभरका सवै उपकरण र प्रविधिको प्रयोग गरी सकेको छ। बाँस/भाटाले छाम्ने र हुकले तान्नेदेखि चुम्बकले खोज्नेसम्मका प्रयोग असफल भए।
त्यसपछि वाटर ड्रोनदेखि, सोनार क्यामेरा प्रयोग गरियो। पुरानो प्रविधिको सोनार उपयुक्त नभएको भन्दै सोमबारदेखि उच्चप्रविधि युक्त सोनार क्यामराको प्रयोग सुरु गरिएको छ। तर, बेपत्ता बस र ४५ जना यात्रुको अत्तोपत्तो छैन।
खोज तथा उद्दारका विषयमा जानकार सशस्त्र प्रहरी बलका डीएसपी लक्ष्मण बस्नेतका अनुसार बस पत्ता नलाग्नुका पछाडि धेरै कारणले काम गरेको हुन सक्छ। तर, त्रिशुलीमा वेपत्ता भएका बस पत्ता नलाग्नुका पछाडि मुख्य ३ कारण रहेको उनको आंकलन छ।
उनका अनुसार त्रिशुलीमा पानीको बहाव तिव्र छ। बाढीसँगै ढुंगा, माटो काठ, रुखजस्ता बस्तुहरु पनि सँगै बगेका छन्। ढुंगा, माटो काठ, रुखजस्ता बस्तुको दबावका कारण बस, बस जस्तो नभई त्यसको आकार परिवर्तन भएर चिन्न नसक्ने भएको हुनसक्छ। त्यसैले सोनार क्यामराले दिएको संकेत र आकृतिलाई अपरेटरले बुझ्न नसकेका हुनसक्छन्।
यसैगरी, बाढीले बस बगाएर हाल खोजी भईरहेको क्षेत्रभन्दा अझै टाढा पुर्याएको पनि हुनसक्छ। र विशाल ढुंगाको खोचमा आकार परिवर्तन भएका बसहरु च्यापिएका कारण पनि नदेखिएको हुन सक्ने डीएसपी बस्नेतको अनुमान छ। ‘जहाँ बसहरु च्यापिएर बसेका होलान, त्यहाँसम्म सोनार प्रविधिको पहुँच नपुगेको पनि हुन सक्छ’ उनी भन्छन्–‘बस फेला नपर्नुमा प्रमुख यीनै तीन कारण हुन।’
उनका अनुसार अहिले त्रिशुलीमा सशस्त्र प्रहरीले प्रयोग प्रयोग गरिरहेको अत्याधुनिक सोनार क्यामराको क्षमता ३ सय मिटर गहिराइसम्मको हो। यो सोनार प्रविधिले ३ सय मिटरसम्मका वस्तुको संकेत गर्नेदेखि आकृतीसमेत देखाउँछ। तर, यो क्षमता भनेको सङ्लो र सफा पानीमा मात्रै हो। त्रिशुलीको अहिलेको अवस्थाका कारण सोनारले मुस्किलले २ देखि ३ फिट गहिराइका बस्तुहरुको आकृति मात्रै अपरेटरसम्म पुर्याईरहेको छ।
‘पानी धमिलो भएका कारण प्रकाश छिर्ने अवस्था नै छैन। त्यही कारण अन्डर वाटर ड्रोन र क्यामेराहरु प्रभावकारी भईरहेका छैनन्’– बस्नेतले भने। उनका अनुसार यस्तो किसिमको खोजीमा विशेषगरी क्यानिङ सर्भिलेन्स सोनार सिस्टम प्रयोग गरिन्छ। यो सिस्टमका डिभाइसहरुले धमिलो पानीमा पनि काम गर्न सक्छन्। तर अहिले त्रिशुलीको पानी एकदमै धमिलो र उच्च बहाब भएकाले सोनारको रेजुलेसनले काम गर्न सकेको छैन।
२८ असारको बिहान साढे ३ बजे लेदोसहितको पहिरोले काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्सलाई पहिरोले त्रिशुलीमा धकेलेको थियो।
टिकट काउन्टर र आफन्तले दिएको विवरण अनुसार एञ्जल डिलक्समा ३८ र गणपति डिलक्समा २७ गरी कुल ६५ जना यात्रु र स्टाफ थिए। गणपति डिलक्सबाट हामफालेर रौतहटको गरुडा नगरपालिका–९ का जुगेश्वर राय यादव, सरोजकुमार गुप्ता र रौतहटकै देवाही बनाही नगरपालिका–१० का नन्दन दासले ज्यान वचाएका थिए।
यस वाहेक ६२ जना यात्रु र स्टाफ मध्ये हालसम्म १७ जनाको शव फेला परेको छ। ती मध्ये ११ जनाको सनाखत भएको छ भने ६ जनाको सनाखत समेत हुन सकेको छैन। दुर्घटनामा बेपत्ता भएका ९ भारतीय मध्ये ३ जनाको मृत्यु भएको पुष्टि भएको छ।
गणपति डिलक्सका चालक रौतहटको परवाह नगरपालिका–६ का ३५ वर्षीय किशोर कुमार चौधरी र सहचालक चन्द्रनिगाहपुर नगरपालिका–१० का ४८ वर्षीय ऋषि कुमार सिंहको शव घट्नास्थलबाट १०३ किलोमिटर तल गण्डक ब्यारेजको पुल नजिक फेला परेको छ। उनीहरुको शव आफन्तले बुझिसकेको चितवन प्रशासनले जनाएको छ।