कर्मचारीलाई घुस खुवाएको भन्दै सांसदले राष्ट्रममै झुटो बोले, गल्ति पनि स्विकारे

काठमाण्डौं– प्रतिनिधि सभाको रोष्ट्रममै उभिएर पाठ्यक्रम विकास केन्द्रमा कर्मचारीलाई ५ हजार घुस दिएको बताएका सांसद एवम् पूर्वमन्त्री वीरेन्द्रप्रसाद महतोले झुटो बोलेको पुष्टि भएको छ। महतोले ६ साउनमा छोराको समकक्षता प्रमाणित गर्ने क्रममा विचौलिया मार्फत कर्मचारीलाई घुस दिएर काम गराएको बताएका थिए।
सांसदबाटै यस्तो कुरा आएपछि शिक्षा मन्त्रालयले शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक वसन्तप्रसाद कोइरालाको संयोजकत्वमा छानबिन गर्न समिति बनाएको थियो। समितिले संसदमा भनेजस्तो कर्मचारीलाई रकम दिएर काम लगाएको नपाइएको जनाएको छ।
समितिले छानबिनपश्चात् मंगलबार शिक्षामन्त्रीलाई प्रतिवेदन बुझाएको छ। सांसदले भनेको शाखामा काम गर्ने कर्मचारी, सम्वन्धित व्यक्ति, तत्काल उपस्थित सेवाग्राही र स्वयम सांसदसँग भएको छलफलका क्रममा त्यो कुरा पुष्टि नभएको संयोजक कोईरालाले वताए।
छानबिन समितिसँग महतोले आफूले भावनामा बगेर बोलेको स्विकारेका छन्। समिति समक्ष महतोले भनेका छन्–‘त्यहाँ भएकै घटना अथवा त्यस्तै किसिमको घटना भएको छ त्यहाँ भनेर मैले पूरै भनेको होइन, त्यहाँ कामको सिलसिलामा यस्तो हुन्छ नि भन्ने खालको कुरा गरेको हो।’
तर, सांसद महतोले संसद बैठकमा आफ्नो छोराको समकक्षता लिन जाँदा शिक्षा मन्त्रालयको सानो ठिमीमा पाँच हजार घुस बुझाएको बताएका थिए। सांसदले सदनमा घुस दिएको बताएपछि शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्र अन्तरगतको मान्यता, समकक्षता तथा मूल्यांकन शाखाका अधिकृतलाई छानबिन हुन्जेलसम्मका लागि भन्दै जिम्मेवारीबाट हटाएको थियो।